काठमाडौं । लगातार दोस्रो जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब विराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
साबिक विजेता आर्मीले समूह ‘ए’ को अन्तिम खेलमा सोमबार बागमती प्रदेशलाई पाँच विकेटले पराजित गर्यो ।
आर्मीले अघिल्लो खेलमा एपिएफलाई पराजित गरेको थियो । यो समूहबाट बागमती र एपिएफ भने बाहिरिएका छन् ।
बैजनाथपुर क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमतीले दिएको ९७ रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले १७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीको लागि निश्चल क्षेत्रीले ४६ र हिमान्शु दत्तले १८ रन बनाए ।बागमतीका लागि दयानन्द मण्डल दुई तथा तिलकराज भण्डारी र आदिल खानले समान एक विकेट लिए ।
वर्षाले आउटफिल्ड भिजेका कारण ढिला सुरु भएपछि २६ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले २४.३ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल तयार पारेको थियो ।
बागमतीका लागि सचिन लेखकले ३४, प्रतिक श्रेष्ठले १५ र आदील खानले १० रन बनाए ।
आर्मीका लागि नरेन साउदले ६ ओभरमा एक मेडनसहित १९ रन खर्चिएर सर्वाधिक पाँच विकेट लिए । यसैगरी दुर्गेश गुप्ताले दुई र तुलबहादुर थापा , सुमीत श्रेष्ठ र विशाल सुश्लिंगले समान एक विकेट लिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार समुह ‘बी’ अन्तर्गतको खेलहरू सुरु हुनेछन्। मंगलबारको खेलमा कोशी प्रदेशले विभागीय टोलि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।