काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ ।
बुधबार सिद्धर्थनगर क्रिकेट मैदानमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध आठ विकेटको सहन जित निकाल्यो ।
जितसँगै आर्मीले दुई खेलमा चार अंक जोडेको छ । पराजित सुदूरपश्चिमको तीन खेलबाट दुई अंक छ । आर्मीले पहिलो खेलमा बागमतीलाई हराएको थियो । कर्णालीसँग हार बेहोरेको सुदूरपश्चिमले गण्डकीलाई पराजित गरेको थियो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको ११८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष कार्कीले ६३ बलमा १० चौकाको मद्तले अविजित ५५ रनको योगदान गरे । यसैगरी तृतराज दासले ३१ र कप्तान विनोद भण्डारीले अविजित रन बनाए ।
सन्तोषले तेस्रो विकेटका लागि विनोदसँग अविजित ६१ र पहिलो विकेटका लागि तृतराजसँग ५३ रनको साझेदारी गरे ।
सुदूरपश्चिमका लागि शेर मल्ल र मिलन बोहराले समान विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ४५.३ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि निश्चल क्षेत्रीले १२१ बलमा दुई चौकाको मद्दतले अविजित ४९ रनको योगदान गरे । यसैगरी सुनिल चन्द र कप्तान नारायण जोशीले समान १६ रन बनाए ।
आर्मीका लागि शहाब आलमले चार, सोमपाल कामीले दुई तथा आकाश चन्द, नरेन साउद, बसिर अहमद र कुशल मल्लले समा एक विकेट लिए ।