काठमाडौं । अस्ट्रेलियाविरुद्ध ५ विकेटको जित निकाल्दै दक्षिण अफ्रिका आइसिसी महिला यु-१९ विश्वकपको फाइलनमा प्रवेश गरेको छ ।
शुक्रबार मलेसियास्थित बायोमास ओभलमा सम्पन्न पहिलो सेमिफाइनलमा अस्ट्रेलियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य दक्षिण अफ्रिकाले ११ बल बाँकी रहँदा ५ विकेट गुमाउँदै पूरा गर्यो ।
दक्षिण अफ्रिकाका लागि जिमा बोथले ३७, कप्तान कायला रेनेकले २६ र कराबो मिसोले १९ रन बनाए ।
अस्ट्रेलयाका लागि हसरत गिल र कप्तान लुसी ह्यामिल्टनले समान २ तथा क्लोए एन्सवर्थले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो ।
अस्ट्रेलियाका लागि काओइमेह ब्रेले ३६, एला ब्रिस्कोले अविजित २७ र लुसी ह्यामिल्टनले १८ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
दक्षिण अफ्रिकाका लागि एश्ले भान विकले ४, नथाबिसेङ निनी, सेश्नी नायडु र कायला रेनेकले समान १ विकेट लिए ।
दक्षिण अफ्रिकाले उपाधिका लागि भारत र इङ्ल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।