काठमाडौं । स्पिनर नरेन साउदको सानदार बलिङ प्रदर्शनप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार दोस्रो जित हासिल गरेको छ ।
बिहीबार दिनको दोस्रो खेलमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजविरुद्ध ७३ रनको फराकिलो जित हासिल गर्योे । सुदूरपश्चिमको जितमा नरेनले पाँच विकेट लिए ।
नरेनले ३.५ ओभर बलिङ गर्दा १९ रन मात्र खर्चिए । त्यस्तै अविनाश बोहराले दुई विकेट लिँदा ब्रेन्डन म्याकमुलन र सेफ जेइबको नाममा एक विकेट रह्यो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको मध्यम लक्ष्य पछ्याएको काठमाडौंका लागि तेस्रो नम्बरका ब्याटर स्टेफन इस्किनाजीले ३३ बलमा पाँच चौका र एक छक्कासहित ३७ रनको योगदान गरे । त्यस्तै पाँचौं नम्बरका ब्याटर सुमित महर्जनले १४ रन जोड्दा चौथो नम्बरका भिम सार्की र पाँचौं नम्बरका जेरार्ड इरास्मसले समान १० रन जोडे । यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौंले दोस्रो ओभरको पहिलो बलमा ओपनर माइकल लेभिटलाई गुमाएको थियो । माइकल म्याकमुलनको बलमा नरेश बढाऐरबाट क्याच भए । पाँचौं ओभरको दोस्रो बलमा अर्का ओपनर शंकर राणा सेफ जेइबबाट बोल्ड भए । दीपेन्द्र सिंह ऐरिको सातौं ओभरको तेस्रो बलमा भिम विकेटकिपर विनोद भण्डारीबाट रन आउट भए । आठौं ओभरको चौथो बलमा इरास्मस नरेनको बलमा एलबिडब्ल्युको शिकार बन्दा ११औं ओभरको पाँचौं बलमा सुमित नरेनकै बलमा बोहराबाट क्याच भए । त्यसपछि नरेनले रसीद खान, कप्तान करण केसी र साहव आलमलाई पेभिलियनको बाटो देखाए । यसबीच प्रतीक श्रेष्ठ अविनाशको बलमा बोल्ड भए ।
१६औं ओभरको पाँचौं बलमा नरेनले साहवको विकेट लिएपछि काठमाडौं अल आउट भएको हो ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा १६७ रनको योगफल तयार पारेको थियो ।
सुदूरपश्चिमका लागि तेस्रो नम्बरका ब्याटर म्याकमुलनले ३६ बलमा तीन चौका र चार छक्कासहित ५३ रनको योगदान गरे । त्यस्तै कप्तान तथा अलराउन्डर दीपेन्द्रले २५ बलमा तीन चौका र दुई छक्कासहित ४३ रन बनाउँदा ओपनर विनोद भण्डारीले २८ बलमा समान दुई चौका र छक्कासहित ३५ रन जोडे । अर्का ओपनर सेफ जइब ११ रनमा पेभिलियन फर्किँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
काठमाडौंका लागि रसीद खानले सर्वाधिक दुई विकेट लिँदा करण केसी, साहव आलम र जेरार्ड इरास्मसले समान एक विकेट लिए ।
दोस्रो ओभरको अन्तिम बलमा सुदूरपश्चिमले पहिलो विकेट गुमायो । तीव्र गतिका बलर रसीदले जेइबलाई बोल्ड गरे । त्यसपछि क्रिजमा आएका म्याकमुलनले विनोदसँग मिलेर ८६ रनको साझेदारी गरे ।
१२औं ओभरको अन्तिम बलमा जेरार्ड इरास्मसले काठमाडौंलाई ब्रेक थ्रु दिलाए । इरास्मसको बलमा साहवबाट लङ अफमा क्याच भए । लगतै अर्को बलमा सुदूरपश्चिमले विनोदलाई गुमायो । विनोद साहवको बलमा एलबिडब्ल्युको शिकार बने । त्यसपछि क्रिजमा आएका कप्तान दीपेन्द्र र रोहन मुस्ताफाले पारीलाई उकास्ने प्रयास गरे । तर, चौथो विकेटका लागि २४ रनको साझेदारीमा रहँदा रोहन रासीदको बलमा बोल्ड भए ।
रोहनपछि आए आरिफ सेख ।आरिफ क्रिजमा एक ओभरभन्दा धेरै टिक्न सकेनन् । दीपेन्द्रलाई स्ट्राइक रोटेट गर्ने जिम्मेवारीमा रहेका आरिफ इस्किनाजीको ओभरमा भिम शार्कीबाट रन आउट भए । १९औं ओभरको चौथो बलमा दीपेन्द्र पेभिलियन फर्किएका थिए ।