काठमाडौं । राजनितिक अवस्थाका कारण आइसिसी महिला ट्वान्टी-२० विश्वकप बंगलादेशबाट युएई सरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मंगलबार प्रतियोगिता सारिएको जानकारी दियो । प्रतियोगिता दुबइ र शारजहामा हुनेछ ।
‘बंगलादेशमा महिला ट्वान्टी-२० विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा हो किनकि हामीलाई थाहा छ बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले एउटा अविस्मरणीय कार्यक्रम आयोजना गर्दै थियो,’आइसिसीका प्रमुख कार्यकारी जियोफ एलार्डिसले भने ।
१० टोलीको सहभागिता रहने प्रतियोगिता अक्टोबर ३ देखि २० सम्म हुने तय छ ।
पछिल्लो महिना सरकार विरोधी अन्दोलका लागि कारण बंगलादेशमा तवनपूर्णस्थिती सिर्जना भएको थियो । अहिले आन्दोलन केही साम्य भए पनि त्यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न भने सम्भव छैन ।
आन्दोलन चर्किएपछि ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउने अस्ट्रेलिया, इङ्ल्यान्ड र भारत सरकारले आफ्ना नागरिकलाई बंगलादेश यात्रा नगर्न ट्राभल एडभाइजरी जारी गरेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले प्रतियोगिता आयोजनाका लागि आइसिसीको प्रस्ताव अस्विकार गरेको थियो ।
यसैगरी श्रीलंका र जिम्बाबेले पनि प्रतियोगिता आयोजनाका लागि चासो देखाएका थिए ।