काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा क्यानाडा अमेरिकासँग ५० रनले पराजित भएको छ । सोमबार रातिको खेलसँगै नेदरल्यान्ड्ससम्मिलित त्रिकोणात्मक शृंखलामा क्यानाडाले लगातार चार खेल गुमाएको छ ।
क्यानाडा पहिलो खेलमा नेदरल्यान्ड्ससँग ५ विकेट, दोस्रो खेलमा अमेरिकासँग १४ रन र तेस्रो खेलमा नेदल्यान्ड्सँग ६३ रनले पराजित भएको हो ।
त्यसअघि भएको चार खेल भने टोलीले लगातार जितेको थियो । टोलीले अमेरिका र स्कटल्यान्डलाई समान दुई पटक हराएको हो । लिग २ मा आठ खेल खेलेको क्यानाडा आठ अंकसहित तेस्रो स्थानमा छ ।
रोटरडाममा भएको खेलमा पहिला ब्याटिङ गरेको अमेरिकाले आठ विकेट गुमाउँदै दुई सय ७६ रनको लक्ष्य प्रस्तुत गर्याे । प्रत्युत्तरमा क्यानाडा ४७ ओभरमा अल आउट हुँदा मात्र दुई सय २५ रन बनायो ।
क्यानाडाको लागि पराग सिंहले सर्वाधिक ७२ र श्रेयास मोभाले ६८ रन बनाए । अमेरिकाका साड्ले भानले सर्वाधिक चार विकेट लिएका थिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाको लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन बनाए । चौथो नम्बर क्रिजमा आएका आरोन जोन्सले ५० तथा मिलिन्द कुमारले ४७ रनको योगदान गरेका थिए । क्यानाडाका साद बिन जफरले सर्वाधिक तीन विकेट हात पारेका हुन् ।