काठमाडौं । घरेलु टोली क्यानाडविरुद्ध ६३ रनको जित निकाल्दै नेदरल्यान्ड्स आइसिसी विश्वकप लिग-२ को शीर्षस्थानमा उक्लिएको छ।
नेदरल्यान्ड्सले सात खेलबाट १० अंक जोडेको छ । स्कटल्यान्ड नौ अंकका साथ दोस्रो स्थानमा रहँदा आठ अंक जोडेको क्यानाडा तेस्रो स्थानमा छ ।
शनिबार नेदरल्यान्ड्सले प्रस्तुत गरेको २२१ रनको लक्ष्य पछ्याएको क्यानडा ३५.४ मा १५७ रनमै समेटियो । क्यानाडाका लागि श्रेयस मोव्वाले ४७, आरोन जोनसन ३२, दिलप्रीत सिंह २० ,डिलोन हेलिगर १४ र साद विन जफरले १२ रन बनाए ।
नेदरल्यान्ड्सका लागि पावल भान मिक्रेनले ९.४ ओभरमा एक मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिए । यसैगरी भिभियन किङ्माले तीन तथा आर्यन दत्त र शरिज अमहमदले समान एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रनको योगफल तयार पारेको थियो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले ७४ बलमा तीन चौकाको मद्तले सर्वाधिक ७२ रनको योगदान गरे ।
यसैगरी नोह क्रसले ३१, विक्रमजित सिंहले २५, शरिज अहमदले १९, म्याक्स ओ’ डोउडले १८ र काइल क्लेनले १० रन बनाए।
क्यानाडाका कलिम सानाले चार तथा हर्ष ठाकर र डेलिन हेलिगरले समान दुई विकेट लिए।