आइसिसी एकदिवसीय विश्वकप

जित्नै पर्ने दबाबमा न्युजिल्यान्ड

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा बिहीबार साबिक उपविजेता न्युजिल्यान्डले श्रीलंकाको सामना गर्दैछ ।

खेल बेङ्लोरस्थित एम चिन्नाश्वामी क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो २ः१५ मा सुरु हुनेछ ।

न्युजिल्यान्ड आठ खेलमा समान चार जित र हारको नतिजासहित आठ अंक जोडेर चौथो स्थानमा छ । न्युजिल्यान्डलाई सेमिफाइनलमा पुग्ने सम्भावनालाई जिवितै राख्न जित्नै दाबाब छ ।

श्रीलंकाविरुद्ध हार व्यहोरेमा न्युजिल्यान्डको सेमिफाइनल सम्भावना समाप्त हुनेछ । न्युजिल्यान्डले श्रीलंकालाई हराए पनि अगाडि बढ्न पाकिस्तानको नतिजामा भरपर्नु पर्नेछ ।

केन विलियमसनको कप्तानीमा रहेको न्युजिल्यन्डलाई रचिन रविन्द्र, डिभोन कोन्वे, ट्रन्ट बोल्ट, टिम साउथी जस्ता खेलाडीको साथ रहनेछ ।

श्रीलंका आठ खेलमा ६ हार र दुई जितको नतिजासहित चार अंक जोडेर नवौं स्थानमा छ । विश्वकपबाट बाहिरिसकेको श्रीलंका पनि न्युजिल्यान्डलाई हराउँदै च्याम्पियन्स ट्रफीको सम्भावनालाई जिवितै राख्ने लक्ष्यमा छ ।

कुशल मेन्डिसको कप्तानीमा रहेको श्रीलंका, एन्जेलो म्याथ्युज, सदिरा समराविक्रमा, दिलशन मदुशनका, महेश तिक्क्षणा जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

यी दुईले हालसम्म १ सय १ एमदिवसीय अन्तर्राष्ट्रिय खेलमा एक अर्काको सामना गरेका छन् । जसमा श्रीलंकाले ५१ र न्युजिल्यान्डले ४१ खेल आफ्नो पक्षमा पारेका छन् । यस्तै आठ खेलविना नतिजा टुङ्गिदा एक खेल टाइ भएको छ ।

एकदिवसीय विश्वकपका यी दुईबीच ११ खेल हुँदा श्रीलंकाले ६ र न्युजिल्यान्डले पाँच जित निकालेका छन् ।