काठमाडौं । एन्जल हार्ट नेसनल स्कुलको आयोजनामा खुला राष्ट्रिय महिला बास्केटबल च्याम्पियनसिप बुधबारबाट हुने भएको छ ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सिनियर र जुनियर (यु-१६) तर्फ समान चार टोलीको सहभागिता रहनेछ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने प्रतियोगितामा सिनियरतर्फ जेभियर इन्टरनेशनल कलेज, साइपाल एकेडेमी, ट्रेनिङ ग्राउण्ड र ग्रान्ड स्टार्स तथा जुनियरतर्फ बौद्ध मेरिडियन स्कुल, रिब्स, भ्याली पब्लिक स्कुल र स्वार्णिम कलेज प्रतिस्पर्धामा छन् ।
नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले युवा खेलाडीलाई सिक्ने अवसर प्रदान गर्ने उदेश्यका लागि पहिलो पटक महिलाको सिनियर र जुनियरको टिमको प्रतियोगिता एकसाथ गराउन लागेको बताए ।
‘हामीले पहिलो पटक सिनियर र जुनियर टिमको एकै पटक एउटै कोर्टमा प्रतियोगिता गराउँदैछौं । यो एउटा नयाँ प्रयोग पनि हो,’ अध्यक्ष गुरुङले भने, ‘जुनियर खेलाडी नै पछि गएर राष्ट्रिय टिममा खेल्छन् । युवा खेलाडीको मनोबल बढाउँदै खेलकुदमा कसरी आकर्षण गर्न सकिन्छ भनेर जुनियर र सिनियरको खेल एकैसाथ गर्न लागेको हो । यसबाट जुनियर खेलाडीले सिनियरबाट अनुशासनलगायत कुराहरू सिक्ने अवसर पाउँछन् ।’
कार्तिक २४ गतेसम्म हुने च्याम्पियनसपिपमा सिनियरतर्फ हरेक टोली एक अर्कासँग दुई खेल खेल्नेछन् । यसैगरी जुनियतर्फ हरेक टोलीबीच एक खेल हुनेछ ।
सिनियरतर्फ विजेताले ४० हजार रुपैयाँया, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले २० र तेस्रो हुनेले १० हजार रुपैयाँ पाउने छन् । जुनियरतर्फ मेडल र प्रमाणपत्र मात्र प्रदान गरिनेछ । ।
यस्तै यस पटक प्रतियोगिता खेल्नका लागि प्रवेश शुल्क नराखिएको आयोजक एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापाले जानकारी दिए ।
