काठमाडौं । भारतको नयाँ दिल्लीमा हुने एपोलो टायर्स न्यु दिल्ली म्याराथनमा दुई भेट्रान धावक धर्म महर्जन र पुष्पलाल श्रेष्ठले भाग लिने भएका छन् । फेब्रुअरी २५ मा हुने म्याराथनमा सहभागी हुन दुवै शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
जवाहरलाल नेहरु रंगशालामा हुने प्रतियोगितामा धर्मले पुरुष ५० वर्षमाथि हाफ म्याराथन तथा पुष्पले पुरुष ६५ वर्षमाथि १० किलोमिटरमा प्रतिस्पर्धा गर्नेछन् ।
दुवैलाई पाटन रनिङ क्लबका अध्यक्ष एवं पूर्व खेलाडी देव महर्जनलगायतले बिदाइ गरे ।
धर्मले एक महिनाको अवधिमा सहभागिता जनाउन लागेको यो तेश्रो अन्तर्राष्ट्रिय म्याराथन हो । उनले जनवरी २१ तारिखमा टाटा मुम्बइ म्याराथन तथा जनवरी २८ मा सिक्किममा भएको म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । दुवै म्याराथनमा उनले स्वर्ण जितेका थिए ।
धर्मले मुम्बइमा फुल म्याराथन (४२.१९५ किलोमिटर) तथा सिक्किममा १० किलोमिटर दूरीमा स्वर्ण जितेका हुन् । बिदाइ कार्यक्रममा धर्मले न्यु दिल्ली म्याराथन जित्दै स्वर्णको ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए ।