भलिबलमै भुलेका भरत

माध्यमिक शिक्षा पूरा गरेपछि अछामबाट बर्दिया झर्दै गर्दा भरत शाहले नेपाली भलिबलको सुपर स्टार बन्छु भन्ने सपनामा पनि सोचेका थिएनन् । ‘राष्ट्रिय टोलीको कप्तान बनौंला, लामो समय नेपाली भलिबलमा खेलाडीका रूपमा राज गरुँला, खेल्न छोडेपछि पनि यही खेलको श्रीवृद्धिमा योगदान गरिरहन सक्षम बनौंला’ भन्ने पनि शाहको कल्पनाबाहिरको विषय थियो । तर सबथोक सम्भव भयो ।

भरत शाह अर्थात नेपाली भलिबलका जीवन्त इतिहास । भलिबलकै लागि व्यक्तिगत जीवनको सबथोक त्यागेका उनलाई यही खेलले व्यावसायिक जीवनमा सबथोक दियो पनि । भलिबलसँगै नेपाल प्रहरीको जागिरे जीवनलाई समानान्तर रूपमा अगाडि बढाएका शाह अहिले करियरको अर्को महत्त्वपूर्ण मोडमा पुगेका छन् । नेपाल प्रहरीमा ३० वर्षे सेवा पूरा गरी सादा जीवन जिउने प्रयासमा छन् ।

प्रहरी सहायक निरीक्षक (असई) बाट सुरु भएको शाहको जागिरे यात्राले अहिले प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँदै बिट मारेको छ । यो अवसर र उपलब्धि भलिबलले नै जुराइदिएको थियो । अछामबाट बर्दिया हुँदै भेरी अञ्चलबाट विराटनगरमा सम्पन्न पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता खेलेपछि शाहको भलिबल यात्रा अगाडि बढ्यो ।

यसपछि राष्ट्रिय टिममा स्थान बनाए भने नेपाल पुलिस क्लबको जागिरे पनि भए उनी । जागिरसँग सँगै खेलकुद क्षेत्रमै रहे । भलिबल खेल्दा खेल्दै प्रशिक्षक पनि भए भने पुलिस क्लबको प्रशासनतर्फ पनि रहे ।

‘भलिबल र प्रहरी सेवा दुवै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्ष रह्यो । भलिबलमा प्रहरी हुनुको र सिपाही हुनुमा खेलाडी हुनुको ठूलो सहयोग रह्यो,’ शाहले सुनाए, ‘दुवैतर्फको करियर अगाडि बढाउन एउटाले अर्को पाटोमा ठूलो योगदान गरेको छ ।’

शाहले आफ्नो उमेरको ४४ वर्ष त भलिबल कोर्टमै बिताए । त्यसक्रममा १८ वर्ष राष्ट्रिय टिममा रहे । जसमा १६ वर्ष त उनी नै नेपालको कप्तान थिए । नेपाल भलिबल संघमा पाँचजना अध्यक्षले नेतृत्व गर्दा खेलाडीको रूपमा मैदानमा सक्रिय हुने दुर्लभ इतिहास शाहको नाममा अंकित छ ।

‘प्रहरीमा ३० वर्ष योगदान गरें । अहिले सेवानिवृत्त भएको छु । मेरो सेवा अवधि सकिए पनि कुनै न कुनै रूपमा नेपाल प्रहरीसँग जोडिएकै छु । सायद जीवनभर नै भलिबल र नेपाल प्रहरीभन्दा टाढा हुन सक्दिनँ । अबका दिनमा सक्रिय जागिरे जीवनबाट विश्राम पाउँदा बचेको समयमा के गर्ने भन्ने विषयमा सोचिरहेको छु,’ ५४ वर्षीय शाह भन्छन् ।

२०५२ सालमा मद्रासमा भएको सातौं दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ) मा अग्ला कदका शाहले पहिलो पटक राष्ट्रिय टिमको जर्सी धारण गर्न पाए । भारतविरुद्धको खेलपछि शाहले कहिल्यैपछि फर्केर हेर्नुपरेन ।

२०४४ सालमा विकट अछामबाट बर्दिया झरेपछि शाह बाहिरी परिवेशमा घुलमिल हुन पाए । बर्दिया झरेपछि नै उनले खेल्न सुरु गरे । ०४५ सालमा भेरी अञ्चलको प्रतिनिधित्व गर्दै विराटनगरमा भएको १५औं राष्ट्रिय भलिबल प्रतियोगितासँगै राष्ट्रिय टिममा स्थान बनाए ।

२०५२ सालमा मद्रासमा भएको सातौं दक्षिण एसियाली खेलकुद (तत्कालीन साफ) मा अग्ला कदका शाहले पहिलो पटक राष्ट्रिय टिमको जर्सी धारण गर्न पाए । भारतविरुद्धको खेलपछि शाहले कहिल्यैपछि फर्केर हेर्नुपरेन ।

यस अवधिमा शाहले घरेलु भलिबलमा आफैं प्रशिक्षक र आफैं खेलाडी भएर पनि खेले । २०४९ सालमा असईमा नाम निकालेका शाह ०५७ सालमा प्रहरी नायब निरीक्षक (सई) हुँदै ०६७ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएका थिए । यसै वर्ष डिएसपीमा बढुवा हुँदै सेवाबाट निवृत्त भएका हुन् ।

शाहले भलिबलमा १६ वर्ष त कप्तानी गरे पनि त्यो समय भलिबलले खासै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिता पाउँदैनथ्यो । उनी खेल्ने बेला नेपालले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता भनेकै दक्षिण एसियाली खेलकुद मात्र थियो । एभिसी सेन्ट्रल जोन नामको क्षेत्रीय प्रतियोगिता त्यतिबेला हुँदैनथ्यो । कहिलेकाहीं एसियाली खेलकुदमा सहभागी हुन पाए त्यो नेपाली खेलाडीका लागि बोनससरह हुने गथ्र्यो ।

एसियाली खेलकुदमा सन् १९७८, १९८२ र १९८६ पछि नेपाली टिमले सहभागिता जनाउन छोड्यो । त्यसपछि पहिलो पटक चार वर्षअघि इन्डोनेसियाको जाकर्तामा भएको एसियाली खेलकुदमा नेपालले सहभागिता जनाएको थियो । शाहको समयमा सन् १९९८ मा एसियाली खेलकुदमा सहभागिता जनाउन नेपाली टिमले दुई महिनाको तयारी गरेको थियो । तर अन्तिम समयमा उसु समावेश गरी भलिबल हटाइँदा शाहको एसियाली खेलकुद खेल्ने सपना पूरा हुन पाएन ।

‘मैले १६ वर्ष राष्ट्रिय टिमको कप्तानी गरें । तर हाम्रो समयमा धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता नै भएनन् । थाइल्यान्डमा हुने एसियाली खेलकुदका लागि दुई महिना तयारी गरेका थियौं । तर हाम्रो खेलको सट्टा उसु पठाउँदा हामी एसियाडको अवसरबाट वञ्चित भएका थियौं,’ शाहले चाहेर पनि खेल्न नपाएको प्रतियोगिता सम्झिए ।

नेपाली खेलकुदमा ७७ वटै जिल्ला संघ भएको एकमात्रै खेल हो भलिबल । तर राष्ट्रिय खेल घोषणा भइसक्दा पनि यसले ठूलो फड्को मार्न सकेको छैन । संघको आफ्नै एउटा कभर्डहलसमेत छैन ।

‘हामीले खेल्दाको भलिबल र अहिलेको भलिबल धेरै फरक छ । उपलब्धिसमेत हासिल गरेको छ । भलिबल संघले मात्रै सबै चिज हेर्ने हैन । भौतिक पूर्वाधार, खेल सामग्री, खेलाडी उत्पादनमा संघ सँगै सरोकारवाला पक्षको साथ चाहिन्छ । त्यसले मात्रै विकास सम्भव छ,’ शाहको मत छ ।

अन्तर्राष्ट्रिय खेलकुदमा पुरुष भलिबल टोलीबाट हालसम्म कुनै पदक प्राप्त गर्न सकिएको छैन । एभिसी सेन्ट्रल जोनमा तेस्रो हुनु नै ठूलो उपलब्धि हो । तर पुरुषको तुलनामा महिला खेलमा भने सम्भावना रहेको शाह बताउँछन् ।

‘पुरुषको तुलनामा महिलाको सम्भावना छ । पुरुष प्रतियोगितामा पहिल्यैबाट प्रतिस्पर्धी साउथ जोनमै बलिया छन् । महिलाले सागमा रजत पदक जितिसकेको छ भने एभिसी सेन्ट्रल जोनमा दुईपटक स्वर्ण पदक हात पारेका छौं,’ उनी भन्छन् ।

यसो भन्दै गर्दा पनि विवाह गर्ने विषयमा शाह सकारात्मक भने छन् । उमेर ढल्किए पनि मन मिले र अनुकूलताअनुसार जहिल्यै पनि विवाह गर्न हुनेमा शाह सहमत छन् ।

अहिले त शाहको उमेरले अर्धशतक काटिसकेको छ । भलिबल र पुलिसको जागिरले सबै चिज त्यागे । एक प्रकारले भन्दा घरपरिवारबाट टाढा रहे । परिवार बनाउनेतिर ध्यान नै दिएनन् । त्यसैले त ५४ वर्षमा पनि उनी ‘कुमार केटो’ नै छन् ।

शाहले घरपरिवार बनाउनेबारे नसोचेका पनि हैनन् । आफ्नो खेल समयको चरमोत्कर्षमा पुग्दा विवाहको ‘अफर’ नआएको पनि हैन । तर जागिरप्रतिको त्याग र खेलप्रति तपस्याको कारण विवाह उनको प्राथमिकतामा परेन ।

‘खेलिरहँदा अहिले चाहि व्यक्तिगत जीवन छुटेजस्तो लाग्छ । तर मलाई त्यसमा कुनै गुनासो पनि छैन । पारिवारिकभन्दा सामाजिक कार्य महत्त्वपूर्ण र विशेष हुन्छ । ‘म पारिवारिक जीवन जिउनुपर्छ भनेर लागेको भए १८ वर्षसम्म राष्ट्रिय टिमबाट खेल्न सक्दिन थिएँ,’ उनी भन्छन् ।

यसो भन्दै गर्दा पनि विवाह गर्ने विषयमा शाह सकारात्मक भने छन् । उमेर ढल्किए पनि मन मिले र अनुकूलताअनुसार जहिल्यै पनि विवाह गर्न हुनेमा शाह सहमत छन् ।

‘विवाह गरेको भए बालबच्चा हुन्थे । जागिर हुन्थ्यो । त्यसले आफूलाई पनि सजिलो हुन्थ्यो जस्तो लाग्छ । बिहे गर्दिनँ भन्ने पनि हैन । परिस्थिति अनुकूल भए जहिले पनि गर्न सक्छु । मानिसले ६०–७० वर्षको उमेरमा पनि विवाह गरेका उदाहरण छन्,’ शाह अलि लजाए ।

यी सबैलाई बिर्सिएर भलिबलकै कारण अलराउन्डर शाहले इज्जत कमाएका छन् । मानप्रतिष्ठा पाएका छन् । भलिबलकै कारण २०–२५ राष्ट्रको भ्रमण गर्ने अवसर पाए । सायद भलिबल नभएको भए कतै त्यो सम्भव थिएन कि । यी त मनमा लाग्ने कुरा भए ।

शाहले आगामी चुनावमार्फत संघको प्रशासनमा प्रवेश गर्दै भलिबललाई उचाइमा पुर्याउने योजना बनाएका छन् । खेल त जहिल्यै हुन्छ । तर त्यसलाई थप विस्तार र व्यवस्थित गर्नेतर्फ अगाडि बढ्ने उनको अठोट छ ।