काठमाडौं । जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई पराजित गर्दै बुढानिलकण्ठ भलिबल क्लब नवौं एनभिए च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा सम्पन्न समूह ‘सी’को खेलमा जित्ने टोलीले अन्तिम आठमा प्रवेश पाउने समीकरण थियो । जसमा बुढानिलकण्ठले बाजी मार्यो । जावलाखेल ३–१ को सेटमा निराश बन्यो । हारसँगै जावलाखेल प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टरसँग ३–० को सोझो सेटमा पराजय बेहोरेको बुढानिलकण्ठले आज २५–१७, २५–१६, १८–२५, २५–२२ को जित निकाल्यो ।
जावलाखेल आफ्नो पहिलो खेलमा रुकुमविरुद्ध ३-१ कै सेटमा पराजित भएको थियो । क्वार्टरफाइनलमा बुढानिलकण्ठले समूह ‘ए’को विजेता हेल्प नेपालसँग खेल्नेछ । त्यस्तै रुकुमले नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
