काठमाडौं । हेल्प नेपाल क्लब लगातार दोस्रो जित निकाल्दै एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई सोझो सेटमा हरायो ।
तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले २५–१६, २५–१९ तथा २५–२२ को जित निकाल्यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।
पहिलो खेलमै पराजित भएको मणिमुकुन्द दोस्रो खेलमा एपिएफसँग खेल्नेछ । यो खेलमा जित निकाल्ने टिमलाई पनि क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।
यसअघि महिलातर्फको दुई खेलमा विभागीय टोलीहरु शसस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएका थिए ।

दिनको दोस्रो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हरायो । एपिएफले खेल २५–६, २५–११ तथा २५–१२ को जितेको हो । शनिबारमात्रै एपिएफले समूह ‘बी’ मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । पहिलो खेलमा एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् । लगातार दुई खेलपछि एपिएफले ६ अंक भएको छ ।
यो हारपछि सुदूरको सम्भावना निकै कमजोर बनेको छ । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।
आज नै भएको पहिलो खेलमा विभागीय टोली आर्मीले चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै समूह ‘बी’ मा ६ अंक जोड्यो । आर्मीले २५–१६, २५–१२ तथा २५–९ को जित निकालेको हो । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।

लगातारको दोस्रो हारपछि चुलीको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो । चुलीले पहिलो खेलमा पनि न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।
अब, ४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल पुग्ने दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ ।
