काठमाडौं । चुली युवा क्लबलाई सोझो सेटमा हराउँदै
विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार त्रिपुरेश्वरस्थित कभर्डहलमा आर्मीले २५-१६, २५-१२ तथा २५-९ को जित निकालेको हो ।
समूह ‘बी’ मा आर्मी लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाउन सफल भयो । आर्मीले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमै हराएको थियो ।
लगातारको दोस्रो हारपछि चुलीको सेमिफाइनल सम्भावना कमजोर बनेको छ । पहिलो खेलमा चुली न्यु डायमन्डसँग सोझो सेटमै पराजित भएको थियो ।
चुलीले पहिलो खेलमा पनि न्यु डायमन्डविरुद्ध मात्र ३० अंक जोड्न सक्यो ।
आज नै महिलातर्फको दोस्रो खेलमा १२ बजे सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले बलियो एपिएफ क्लबको सामना गर्दैछ । एपिएफ लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा सुदूरपश्चिम भने पहिलो जित निकाल्ने दाउमा छ ।
शनिबारमात्रै एपिएफले मधेश प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको थियो । यो खेलमा एपिएफले ७५ अंक जोड्दा मधेशले मात्र १३ अंक जोडेको थियो । एपिएफकी निरुता ठगुन्नाले एक्लै १३ अंक जोडेको थिइन् । सुदूरपश्चिम पहिलो खेलमै अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भएको थियो ।
यता, पुरुषतर्फ हेल्प नेपाल र विभागीय टोली नेपाल पुलिस क्लबलाई आ–आफ्ना खेल जित्दै क्वार्टरफाइनलमा पुग्ने अवसर छ ।
दिनको तेस्रो खेलमा हेल्प नेपालविरुद्ध मणिमुकुन्द भलिबल क्लब खेल्दैछ । २ बजे हुने खेलमा हेल्प नेपाल लगातार दोस्रो जित निकाल्न चाहन्छ । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराएको थियो । मणिमुकुन्द भने तीन पाकिस्तानी खेलाडी समावेश गरेर बलियो देखिएको हेल्प नेपाललाई रोक्ने तयारीमा छ । मणिमुकुन्द पहिलो खेलमै अंक जोड्ने चाहन्छ । यदि यो खेलमा पराजित भएपनि मणिमुकुन्दलाई एपिएफविरुद्धको खेल जित्दै क्वार्टरफाइनल पुग्ने अवसर रहन्छ ।
४ बजे हुने दिनको अन्तिम खेलमा खिल्जी युवा क्लबलाई हराउँदै अर्काे विभागीय टोली नेपाल पुलिस पनि सिधै क्वार्टरफाइनल दाउमा छ । समूह ‘बी’ को पहिलो खेलमा पुलिसले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हराएको थियो । खिल्जीको भने यो पहिलो खेल हो । खिल्जी विभागीय टोलीविरुद्ध जित निकाल्ने योजनामा छ ।
