काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करण रोकिएकै अवस्थाबाट पुनः सुचारु हुने भएको छ ।
आयोजक इन्फिनिटी ड्रिम्सले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतियोगिता यही कार्तिक २६ देखि २९ सम्म चल्ने जानकारी गरायो । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा हुनेछ ।
इडब्लुभिएलको दोस्रो संस्करण गत भाद्र २० देखि २८ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्धेश्यीय कभर्डहलमा हुने तालिका थियो । तर, भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका कारण प्रतियोगिता अस्थायी रुपमा प्रभावित भएपछि बाँकी खेलहरु अनिश्चित समयका लागि स्थगित गरिएको थियो ।
आयोजकले भदौ २८ गते इडब्लुभिएल रोकिएकै अवस्थाबाट सुरु हुने बताएको थियो । डेढ महिनापछि आयोजकले नयाँ मिति घोषणा गरेको हो ।
‘प्रतियोगिता पुनः सुचारु गर्न नेपाल भलिबल संघ(एनभिए)बाट आधिकारिक स्वीकृति प्राप्त भइसकेको छ । लिगका कूल १६ मध्ये ९ खेल सम्पन्न भइसकेका छन् । बाँकी खेलहरु काठमाडौंमै सम्पन्न गर्ने तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । संशोधित खेलतालिका चाँडै सार्वजनिक गर्नेछौं,’ विज्ञप्तिमा भनिएको छ ।
अंकतालिकामा ललितपुर क्विन्स र कर्णाली यश्विस समान तीन खेलमा खेलमा ९ अंक जोडेर क्रमशः पहिलो र दोस्रो स्थानमा छ ।
