काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा पुरुषोत्तम सिलवालले एकल अग्रता लिएका छन्।
युथ च्याम्पियन पुरुषोत्तमले तीन अंकसहित एकल अग्रता लिए हुन्। आइतबार पुरुषोत्तमले दोस्रो चरणमा फिडे मास्टर क्षितिज भण्डारी र तेस्रो चरणमा सिएम केशव श्रेष्ठलाई हराए । दुवै खेलाडी पुर्व नेपाल च्याम्पियन हुन् ।
अर्का युवा खेलाडी एआइएम श्रुसुरत दाहलले पनि आफ्नो अपराजित यात्रा जारी राख्दै २.५ अंक सहित पुरुषोत्तमलाई पछ्याइ रहेका छन्।
पहिलो चरणको खेलमा नेपाल च्याम्पियन रुपेश जैसवाललाई बराबरीमा रोकेका श्रुसुरतले दोस्रो चरणमा राजन सुवेदी र तेस्रो चरणमा सिएम मिलान लामालाई पराजित गरे।
मिलन लामा, क्षितिज भण्डारी, राजन सुवेदी र प्रकाश नेपाल समान दुई अंकका साथ तेस्रो स्थानमा छन् ।
प्रेम महर्जन, ललितपुरका सुरोज महर्जन, सुशील चौधरी र राजीव कार्कीले समान एक अंक जोडेका छन्।
प्रतियोगितामा खराव प्रदर्शन गरिरहेका वर्तमान नेपाल च्याम्पियन रुपेश जैसवाल दोस्रो चरणमा राजिव कार्की र तेस्रो चरणमा क्षितिजसंग पराजित भए।
रुपेशको ०.५ अंक छ भने पूर्व च्याम्पियन केशव श्रेष्ठले खाता खोल्न सकेका छैनन् ।
महिलातर्फ चार खेलाडी शीर्ष स्थानमा
महिलातर्फ सिन्दिरा जोशी, रिया श्रेष्ठ , शान्ति धिमाल र पूजा भण्डारी समान तीन अंक जोड्दै संयुक्तरूपमा शीर्ष स्थानमा छन्।
सिन्दिराले दोस्रो चरणमा सुशीला गुरुङ र तेस्रो चरणमा सविना गुजलाई निरास पारिन्। रियाले दोस्रो चरणमा प्रसन्नखोविनाय तेस्रो चरणमा विनिता कपालीलाई हराइन् ।
शान्तिले दोस्रो चरणमा भक्तपुरका श्रया दुवल र तेस्रो चरणमा सुशीला गुरुङलाई पराजित गरिन् । पूजाले प्रसन्न खोविनाय र सुशीला गुरुङलई निरास बनाइन् ।
पुनम प्रसाईं र कृतिसारा अधिकारीको समान दुई अंक छ । विनिता कपाली, सुशीला गुरुङको समान एक अंक छ।
च्याम्पियनसिपबाट खुल्लातर्फ तीन र महिलातर्फ उत्कृष्ट चार खेलाडी हंगेरीको बुडापेस्टमा सेप्टेम्बर १० देखि २३ सम्म हुने ४५ औं चेस ओलम्पियाडका लागि छनोट हुनेछन् ।