काठमाडौं । सरकारले यसै वर्ष सुर्खेतमा आयोजना हुने १०औं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड रुपैयाँ बिनियोजन गरेको छ ।
मंगलबार संघीय संस्दको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ६० करोड बिनियोजन गरेको बताएका हुन् ।
सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई ३ अर्ब ५० करोड रुपैंया बजेट छुट्याएको छ । जसमध्ये एक अर्ब ३० करोड रुपैयाँ खेलकुद पुर्वाधार निर्माण, प्रतियोगिता आयोजनामा खर्च गरिनेछ । मन्त्रालयलाई दिने बजेट चालु आर्थिक वर्षभन्दा ६३ करोड ४१ लाखले वृद्धि भएको हो । यसअघि चालु आर्थिक वर्षमा सरकारले मन्त्रालयलाई २ अर्ब ८६ करोड ५९ लाख रुपैंया बिनियोजन गरेको थियो ।
बजेट भाषणमा महिलाको सहभागिता बढउने बताएका अर्थमन्त्री पुनले ओलम्पिक र एसियाली खेलकुदमा बलियो सहभागिताका लागि राष्ट्रिय टोलीको तयारी गरिने पनि बताए ।
यस्तै खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरी राष्ट्रको प्रतिष्ठा बढाउने राष्ट्रिय टोलीका खेलाडीलाई प्रोत्साहन गरिने र नेपालका मौलिक खेलहरु डण्डी बियो र बागचाललाई प्रबद्र्धन गरिने पनि पुनले जानकारी दिए । आधुनिक प्रविधिसँग जोडिएको इ स्पोर्टसको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गरिने र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तोरन्नती र फाप्ला क्रिकेट रंगशाला निर्माणका लागि तिव्रता दिइने पनि उनले बताए ।
साथै सरकारले काठमाडौंको मुलपानी मैदान र विराटनगरको गिरीजा प्रसाद कोइराला रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा निर्माण गर्न बजेट बिनियोजन गरिएको पनि उनले बताए । उता भरतपुरमा निर्माणाधिन गौतम बुद्ध रंगशाला संघ प्रदेश र स्थानीयको साझेदारीमा निर्माण कार्य अगाडि बढाइने बताएका उनले खेल पुर्वाधारतर्फ एक अर्ब ३० करोड विनियोजन गरेको पनि जानकारी दिए ।
भाषणको अन्त्यमा पुनले शिक्षकलाई खेलकुदको तालिम दिई विद्यालयमा खेलकुद प्रबर्धन गरिने र बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिए । त्यस्तै प्रतिभावान बालबालिकालाई खेल छात्रवृत्तिको व्यवस्था मिलाइने र खेलकुद पुर्वाधारको निर्माणमा निजी क्षेत्रको संलगनता बढाई खेलकुद अर्थतन्त्र बढाइने कुरा बजेटमा समावेश गरिएको उनले बताए ।