अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष तथा एसियाली फुटबल महासंघका पूर्वउपाध्यक्ष गणेश थापा अहिले फिफाको १० वर्षे प्रतिबन्धमा छन् । उनको प्रतिबन्ध फुकुवा हुन अझै तीन वर्षभन्दा बढी समय बाँकी छ ।
उनीविरूद्ध आर्थिक अपारदर्शिता, अनियमितता, कुशासनलगायतका आरोप लगाएर जेहाद छेडेको टोली अहिले कर्माछिरिङ शेर्पाको नेतृत्वमा एन्फा हाँकिरहेको छ । थापालाई लगाइएका आरोप अहिले ब्याजसहित वर्तमान एन्फा नेतृत्वले बेहोरिइरहेको छ । कार्यकाल सुरू भएदेखि नै विवादका विभिन्न शृंखला बेहोर्दै अघि बढेको एन्फामा अहिले अवस्था झनै बिग्रिएको छ । हिजो एउटै टिममा रहेर थापाविरूद्ध आन्दोलित भएकाहरू तितरबितर भएर एकअर्काविरुद्ध आगो ओकल्दै हिँडिरहेका छन् ।
थापा भने आगामी वैशाखमा हुने एन्फा निर्वाचनको रणनीति बनाउन व्यस्त भएको आरोप खेपिरहेका छन् । यसका साथै उनलाई आफ्ना विपक्षीहरू आपसी लडाइँमा हुँदा बार्दलीमा बसेर मुस्कुराउँदै झगडा हेरेको आरोप पनि छ । यिनै विषयमा केन्द्रित रहेर थापासँग खेलाडी डटकमले गरेको कुराकानीको सम्पादित अंश :
दुई दशकभन्दा धेरै समय नेपाली फुटबलमा राज गर्नुभयो । अहिले सत्ताबाहिर हुँदा कत्तिको पीडा हुँदोरहेछ ?
खेलाडी र प्रशासकका रूपमा मैले करिब ३५ वर्ष फुटबलमा बिताएँ । त्यसैले मेरो फुटबलबाट बाहिरिने बेला भइसकेको थियो । तर, कस्तो संयोग पर्यो भने मैले त्यति धेरै योगदान गरेको राष्ट्रिय टिममा पनि ‘इन्डिङ’ राम्रो भएन । त्यहाँ पनि मलाई अन्याय भयो । त्यो अन्यायले एक किसिमको पीडा भएको थियो । पीडा हुँदाहुँदै म व्यवस्थापनमा आएँ । व्यवस्थापनमा आएपछि धेरै व्यस्त हुँदा मसँग त्यो पीडा सम्झने फुर्सद नै भएन ।
अहिले त मसँग समय छ । ती दुवै कुरा सम्झँदा पीडा हुन्छ । म फुटबल संघको अध्यक्ष भइनँ भनेर पीडा हुँदैन । अरू कारणले मलाई पीडा हुन्छ ।
कतिपय मानिसहरूले मिडियामा आएका भ्रमपूर्ण कुराले गर्दा सत्यतथ्य थाहा पाएका छैनन् । मप्रति मानिसहरूको भ्रम छ । नेपालको अख्यितारले मलाई सफाइ दियो । तर फिफाले कारबाही गर्यो । तर ती दुई चिज बेग्लाबेग्लै हो भन्ने कुरा त कसैलाई थाहै छैन ।
फिफाले मलाई कारबाही गर्दा एएफसीका तत्कालीन अध्यक्ष मोहम्मद बिन हमामले पारिवारिक रूपमा गरेको सहयोगलाई कारण बनाइयो । त्यो बेला फिफा अध्यक्ष ब्लाटर र हमामको झगडा परिरहेको थियो । ब्लाटरले हमामलाई कारबाही गर्न खोज्दा चेपुवामा हामी पर्यौं । र, म कारबाहीमा परें ।
हमामले व्यक्तिगत रूपमा मलाईभन्दा बढी सहयोग त अरूलाई गरेका छन् । यसमा मेरो एउटा प्रश्न चाहिँ के छ भने, त्यो बेला भोटका लागि मलाई हमामले सहयोग गर्यो रे, भोटका लागि दियो रे, तर सात/आठ वर्षदेखि हामी दुवै फुटबलमा छैनौं । यद्यपि उनले मलाई सहयोग गरिरहेका छन् । त्यतिबेला परिस्थिति त्यस्तै बन्यो । मैले त्यसलाई स्विकार गरें । तर यहाँ अख्तियारले सफाइ दिए पनि फिफा दिएन भन्ने भ्रम छ । मैले ती कुरा बुझाउन सकेको छैन । त्यो पीडा मलाई छ ।
मसँगै काम गरेका तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पाले व्यक्तिगत स्वार्थका लागि कृत्रिम आरोप खडा गरेर मलाई बदनाम गर्ने काम गर्नुभयो त्यसको मलाई पीडा छ ।
नेपालमा सार्वजनिक लेखा समितिले कुनै निर्णय नै गरेको छैन । छानबिन गर्न अख्तियार पठाइदिने भन्ने छ । फुटबल संघमा भएका यो-यो विषयमा थप छानबिन गर्न अख्तियार पठाइदिने भन्ने कुरा, मिडियामा गणेश थापाले ५८ करोड भ्रष्टाचार गरेको ठहर गर्यो भनेर आयो । आम मानिसमा त्यही कुराको छाप पर्यो । यो भ्रमप्रति मेरो पीडा हो ।
मसँगै काम गरेका तत्कालीन उपाध्यक्ष कर्माछिरिङ शेर्पाले व्यक्तिगत स्वार्थका लागि कृत्रिम आरोप खडा गरेर मलाई बदनाम गर्ने काम गर्नुभयो त्यसको मलाई पीडा छ ।
मलाई जति आरोप-प्रत्यारोप गरे पनि नेपाली फुटबल सही ट्र्याकमा हिँडेको भए, राम्रै गरिरहेको छ, हिजो मेरो पालामा भन्दा खेलाडीले राम्रो सुविधा पाए भन्ने हुन्थ्यो । हिजो खेलाडीहरूले डेढ लाख महिनाको कमाउँथे, अहिले तीन लाख कमाउन लागे, खेलाडीहरूले हिजो दुईटा कार पाउँथे अहिले चारवटा कार पाउन थाले, हिजो पुरस्कार राशि एक करोड थियो, अहिले त्यो बढेर चार करोड पुगेको भए, ग्रासरूट कार्यक्रम हिजो हामीले गरेभन्दा राम्रो भएको भए, लिग हामीले सुरु गरेको भन्दा उच्चस्तरको भएको भए, राष्ट्रिय लिगहरू अझ राम्रो भएको भए, राष्ट्रिय खेलाडीले तलब पनि राम्रो पाएको भए, महिला खेलाडीहरूले पनि त्यतिकै सविधा पाउन थालेको भए वा रेफ्रीले राम्रो सुविधा पाउन थालेको भए मलाई धेरै पीडा हुँदैनथ्यो होला । तर, अहिले त ६, ७ वर्षअगाडि भएका कुरा पनि हुन छाड्यो । यसले पनि मलाई पीडा दिएको छ ।
मलाई फुटबलको पदमा भइनँ भनेर कुनै पीडा त छैन । पदमा नभएर पीडा भएको भए त अहिले ‘सबैले तपाईं फर्किनुपर्छ’ भन्दा म जसरी नि फर्किन्छु भन्थें होला । तर, म फर्किने अवस्था छैन । मन पनि छैन ।
वर्तमान नेतृत्वको असफलता चरम छ । तत्कालकै कुरा गर्ने हो भने आफ्नै कर्मचारी र उपाध्यक्षबीचको विवाद मिलाउन नसक्ने, राखेपमा गएर हात जोड्ने, उनीहरूकोमा गएर बयान दिने, साफ च्याम्पियनसिप आयोजना गर्न पठाएको फारम पनि नबुझ्ने नेतृत्व छ । फारम पाएको भरमा साफ नेपालमा आयोजना हुने भयो भनेर समाचार लेखाउने नेतृत्व देख्दा पीडा हुन्छ ।
खेलाडी, क्लबका मान्छेहरूले ‘फुटबल बिग्रियो भत्कियो’ भन्दा चाहिँ मलाई पीडा हुन्छ ।
तपाईंको पालामा र अहिलेको एन्फामा के अन्तर देख्नुहुन्छ ?
प्रस्ट रूपमा भन्नुपर्दा हामीले एन्फा एकेडेमी स्थापना गरिसकेपछि नेपाललाई एसियाकै एउटा सशक्त टिम बनाउन सकिन्छ भन्ने लागेको थियो । त्यसमा म पनि सफल भइनँ । हारजित त हुन्छ नै । दक्षिण एसियामा हामी बलियो टिम नै हो । एसियामा राम्रै स्थितिमा थियौं । जुनियर स्तरमा धेरै राम्रो सफलता हासिल गरिरहेका थियौं ।
फिफाले हिजोका दिन आफ्ना सदस्य राष्ट्रहरूलाई ५ लाख डलर उपलब्ध गराउँथ्यो । अहिले झन्डै ५० लाख डलर फिफा र एएफसीले प्रदान गरिरहेको अवस्था छ । यति धेरै पैसा हुँदा केही काम भएको देख्दिनँ म ।
खेलाडीले खेलेरै बाँच्न सक्नुपर्छ भन्ने उद्देश्यमा हामी केही हदसम्म सफल भयौं । ग्रासरूट कार्यक्रमहरू सफलतासाथ सम्पन्न भए । लिगमा धेरै परिवर्तन गर्यौं । म अध्यक्ष भएर आउँदा ७ वर्षदेखि लिग नै भएको थिएन । लिग गर्न पैसा थिएन । तर, हामीले लिग अन्त्यन्तै सफलतापूर्वक सम्पन्न गर्यौं । राष्ट्रिय लिगको सुरुआत गर्यौं र सफल पनि भयो । त्यही हिसाबले ‘बी’ र ‘सी’ डिभिजन तथा जिल्ला लिगहरूलाई पनि वर्गीकरण गरेर राष्ट्रिय लिग गर्ने मेरो लक्ष्य भने सफल भएन ।
फिफाले हिजोका दिन आफ्ना सदस्य राष्ट्रहरूलाई ५ लाख डलर उपलब्ध गराउँथ्यो । अहिले झन्डै ५० लाख डलर फिफा र एएफसीले प्रदान गरिरहेको अवस्था छ । यति धेरै पैसा हुँदा केही काम भएको देख्दिनँ म । कहाँ खर्च भएको छ थाहा छैन । जति पनि प्रोजेक्टहरू ल्याइएको छ, सबैमा विवाद छ ।
अहिले जस्तो साधनस्रोत मेरो कार्यकालमा पाएको भए, फुटबलमा धेरै कुरा गर्न सकिन्थ्यो भन्ने लाग्छ ।
नेपालको मात्र होइन, विश्व फुटबलकै कुरा गर्ने हो भने रातारात कुनै देशले आमूल परिवर्तन गरेको छैन । एक लेभलसम्म अगाडि बढेका छन् । हामीले पनि एक लेभलसम्म अगाडि बढायौं । अझै माथि उकास्न हामी प्रयासरत थियौं । त्यसपछि केही भएको छैन ।
हिजोका जति काममात्र अहिले निरन्तर भएको भए सन्तुष्टि लिने ठाउँ हुन्थ्यो । म त हरेक चिजमा नेतृत्वको कमीकमजोरी र फुटबलप्रतिको प्यासन नभएका कारण आफूले छाडेपछिको ६ वर्षको समयलाई उत्साहजनक देख्दिनँ ।
६-७ वर्षअघि खेलाडीले डेढ लाख कमाउँथ्यो भने अहिले ती खेलाडीले महिनामा कम्तीमा तीन लाख कमाउने वातावरण बन्थ्यो । राष्ट्रिय लिगमा होम एन्ड अवेको नयाँ उत्साह हुन्थ्यो होला ।
हाम्रो पालामा पदाधिकारीले भत्ता नलिने, एन्फामा गरेको कामलाई सामाजिक कार्यका रूपमा लिने चलन थियो । तर अहिले पदाधिकारीहरूको सुविधामात्र बढाउने काम भएको छ । अनियमितता बढेको छ । यो विषयमा भने प्रगति भएको छ ।
हामीले सहिद स्मारक र राष्ट्रिय लिगको पुरस्कार राशिमा जुन हिसाबले वृद्धि गरेका थियौं । त्यसअनुसार अहिले ‘ए’ डिभिजन लिगको ३ करोड, राष्ट्रिय लिगको ४ करोड पुर्याउँथ्यौं होला । ६-७ वर्षअघि खेलाडीले डेढ लाख कमाउँथ्यो भने अहिले ती खेलाडीले महिनामा कम्तीमा तीन लाख कमाउने वातावरण बन्थ्यो । राष्ट्रिय लिगमा होम एन्ड अवेको नयाँ उत्साह हुन्थ्यो होला । यो कुरा अहिलेको नेतृत्वले गर्नुपर्थ्यो उहाँहरू यसमा असफल हुनुुभयो जस्तो लाग्छ ।
विश्व महामारीका रूपमा फैलिएको कोभिड-१९ ले पनि उहाँहरू (वर्तमान एन्फा नेतृत्व) ले काम गर्न पाउनुभएन होला नि त ?
होइन । कोभिड-१९ हुनुभन्दा अगाडि पनि हामीले त देख्यौं नि ? बिना रेलिगेसनको लिगबाट उहाँहरूको कार्यकाल सुरु भयो । के काम गर्न पाएन भन्नु ।
फुटबलमा अहिले एकदम विवाद छ । हिजो तपाईंविरुद्धको एकजुट भएकाहरू अहिले आफै एकअर्काविरुद्ध लडिरहेका छन् । तपाईं बार्दलीमा बसेर अहिलेको फुटबल विवादको स्वाद लिएर मख्ख हुनुहुन्छ रे, के साँचो हो ?
हा..हा.. । त्यस्तो होइन । यसबाट म कसरी खुसी हुनु ? फुटबल बिग्रिँदा म कसरी खुसी हुन सक्छु र ? उहाँहरू सबैजना मिलेर मलाई हटाइएको होइन । फिफाले प्रतिबन्ध लगाएर म हटेको हुँ । म फुटबल संघमा भइरहेको भए त उहाँहरू जति मिले पनि मलाई हटाउन सक्ने स्थिति थिएन ।
म यस विषयमा तपाईंहरूको खेलाडीडटकममार्फत प्रस्ट पार्न चाहन्छु कि मलाई हटाउन गाह्रो थियो । यस्तो नेतृत्वले मलाई हटाउन सक्थ्यो र ? म त फिफाबाट प्रतिबन्धमा परें । त्यसपछि पो उहाँहरू आउनुभएको हो । फिफाबाट फुकुवा भएर तीन महिनाका लागि फर्किंदा नै चर्को स्वरमा कराउने प्रमुख मान्छेहरू नै हाम्रो गल्ती भयो अब मिलेर जानुपर्छ भन्न आएका थिए । त्यतिबेला मैले नै उहाँहरूलाई नभेटेको हो । उहाँहरूले आरोप प्रत्यारोप त लगाउनुभयो तर नेपालमा प्रमाणित गर्न सक्नुभएन । फिफामा पनि साँढेको जुधाइ बाच्छाको मिचाइजस्तै भयो मलाई ।
०५४/०५५ सालमा होला, एन्फा टेक्निकल सेन्टर बनाउने बेला कानुनी रूपमै कमिशन आयो । मैले उहाँहरूलाई के भने भनें, म व्यक्तिगत रूपमा यस्तो कमिशन लिने मान्छे होइन । यदि तपाईंहरूले दिने नै हो खेलाडी कोषलाई दिनुस् भनें ।
नेपालमा त मैले सबै कुरा क्लिन चिट पाएको हुँ । त्यो व्यक्तिगत रूपमा हमामले दिएको रकममा चाहिँ मैले त्यत्तिकै थपेर सामाजिक काममा खर्च गरिदिएँ । हुन त मैले यसो भन्दा फिफाले प्रतिबन्ध हटाउने होइन । तर आत्मसन्तुष्टिका लागि भन्दैछु । भूकम्प जाँदा होस् या अरू बेला सामाजिक कार्यमै खर्च गरिदिएको छु । यसबाट म र मेरो परिवार सन्तुष्ट छौं ।
०५४/०५५ सालमा होला, एन्फा टेक्निकल सेन्टर बनाउने बेला कानुनी रूपमै कमिशन आयो । मैले उहाँहरूलाई के भने भनें, म व्यक्तिगत रूपमा यस्तो कमिशन लिने मान्छे होइन । यदि तपाईंहरूले दिने नै हो खेलाडी कोषलाई दिनुस् भनें । कमिशन भनेर आएको त्यो बेलाको ४० लाख खेलाडी कोषमा जम्मा गरिदिएँ । अहिले त्यो रकम भनेको ३०-४० करोड हो । त्यत्रो रकम त गणेश थापाले नलिएर खेलाडी कोषमा जम्मा गर्यो । अहिले एक/दुई करोडमा मन बिर्गाला र ? त्यसमा १० लाख थपेर ५० लाखको अक्षय कोष बनायौं । अहिले त्यही रकमबाट खेलाडीको उपचार भइरहेको छ ।
तपाईंलाई आफ्ना विरोधीहरू एकआपसमा लड्दा त रमाइलो लाग्छ होला त ?
होइन । फुटबल बिग्रिएको, भत्किएको कुरामा मलाई कसरी रमाइलो लाग्छ र भन्या ? म त फुटबललाई माया गर्ने मान्छे हो नि । त्यसैले त्यस्तो कुरामा खुसी हुने कुरै छैन । कर्माछिरिङ शेर्पा एक राजनीतिक पृष्ठभूमिबाट आएको व्यक्तित्व हुनुहुन्छ । उहाँका हरेक क्रियाकलाप, भाषण, काम गर्ने शैली सबै राजनीतिक हिसाबको छ । राजनीतिमा हुनुपर्ने गुणमात्र छ । खेलाडी वा खेलप्रति कुनै ‘प्यासन’ छैन । अनि उहाँले राजनीतिक रूपमा मात्र एन्फा अघि बढाउने काम गर्नुभयो । त्यसले फुटबललाई माया गर्ने मान्छे त खुसी हुँदैनन् । त्यसले एउटा ठूलो भ्रम सिर्जना गर्ने काममात्र भयो ।
जति झगडा भएको छ त्यो फुटबल बिग्रियो भनेर होइन कि यो पद पाइनँ, त्यो पद पाइनँ भनेर छ । कसैले लिगको पुरस्कार रकम घट्यो, खेलाडीको तलब घट्यो, खेलाडीले कार वा अपार्टमेन्ट पाएनन् भनेर झगडा गरेका छन् त ? छैन नि । खाली मैले यो पद पाइनँ, त्यो पद पाइनँ भन्ने बाहेक अरू कुनै विषयमा लडाइँ सुन्दिन त ?
अलि अलि ‘क्याटलिस्ट’को काम तपाईंले पनि गर्नुभएको छ रे नि त ?
होइन, होइन । यसमा मेरो केही भूमिका छैन । एउटा कुरा के भने अहिले सबै मान्छेले विस्तारै बुझ्न थाले । त्यतिबेला नारा त ठूल्ठूला लगाइएको थियो । त्यो नाराअनुसार काम त केही पनि भएन ।
यसमा मेरो भूमिका केही छैन । हिजो पनि दोष मलाई थुपार्थे, आज नि थुपारेका छन् । खेलाडी भएदेखि नै मेरो भाग्य नै त्यस्तै छ । दोषमात्र पाउने ।
कतिपय के पाउँछु भनेर आएका थिए होलान् । त्यो पनि पाएनन् । केही राम्रा पनि थिए होलान् । तर अघिकांश त स्वार्थका पछि लागेका थिए । त्यो स्वार्थ पूरा नभएपछि कुरा मिलेन । केहीलाई हिजोको भन्दा राम्रो हुन्छ भन्ने लागेथ्यो होला । तर झन् विग्रिँदा उनीहरू पनि असन्तुष्ट भए होलान् ।
यसमा मेरो भूमिका केही छैन । हिजो पनि दोष मलाई थुपार्थे, आज नि थुपारेका छन् । खेलाडी भएदेखि नै मेरो भाग्य नै त्यस्तै छ । दोषमात्र पाउने ।
हिजो तपाईं नेतृत्वमा हुँदा यो कुरा गर्न पाएको भए हुन्थ्यो भन्ने लागेर नपाएका केही छन् ?
एउटा एन्फाको आफ्नै मिनी रंगशाला हुनुपर्छ भन्ने सोच थियो । मैले सुरु गरेको ढिलोचाँडो भएपनि च्यासल रंगशाला करिब सम्पन्न हुने अवस्थामा रहेछ । कम्तीमा १० हजार क्षमताको आफ्नै मिनी रंगशाला हुनुपर्छ भनेर मेरै पालामा टेन्डर सम्पन्न भएर काम सुरु भएको हो ।
अर्को यू-१६ वा यू-१९ टिमलाई विश्वकपमा एसियाबाट छनोट गराउँछु भन्ने धोको थियो । त्यो पनि झन्डै झन्डै पूरा हुन लागेको थियो । २००९/१० तिर होला । यू-१७ बैंककमा पुगिसकेका थियौं । दुर्भाग्यवश उज्वेकिस्तानविरुद्ध जितिसकेको खेल बराबर भयो । पेनाल्टी नभएको बलमा रेफ्रीले पेनाल्टी दिँदा बराबर भयो । त्यसकारण हामी अन्तिम खुड्किलोबाट बाहिरियौं ।
व्यक्तिगत रूपमा फिफाको कार्यसमितिमा पुग्ने धोको थियो । प्रतिबन्ध नभएको भए म पुगिहाल्थें । अहिले भारतका पदाधिकारी पुगेका छन् । नत्र, त्यो ठाउँमा म हुन्थें ।
एएफसीको अध्यक्ष पनि हुनसक्ने सम्भावना थियो, त्यहाँ भइरहेको भए । त्यो पनि हुन्थें कि भन्ने लाग्छ ।
अर्को राष्ट्रिय लिग । जिल्ला र काठमाडौंका क्लबलाई मिलाएर एकदम स्तरीय राष्ट्रिय लिग बनाउने सपना थियो । सुरु पनि भएको थियो तर पूरा भएन ।
पूरा हुन नसकेका तपाईंका केही सपना रहेछन् । फुटबलमा पनि यस्तो बेतिथि छ भन्नुहुन्छ । यसलाई तपाईं फेरि सक्रिय फुटबलमा फर्किन लाग्नुभएको मान्न सकिन्छ ?
म फुटबलमा फर्किन्छु । एन्फाको नेतृत्वमा फर्किन्न । अहिले खेलाडीहरूले आफूलाई अन्याय भएका कुराहरू सुनाएकाले मात्र म बाहिर बसेर पनि बोलिरहेको छु । खेलाडीहरूले मसँग ‘तपाईं बोल्दिनुपर्यो’ भनेर अनुरोध गरेका छन् । मैले बोल्दा एन्फा नेतृत्वलाई धेरै दबाब परेको मैले महसुस गरेको छु । मान्छेलाई चाहिँ गणेश थापा फेरि फुटबलमा पुनरागमन गर्न लागेको हो कि भन्ने भ्रम परेको छ । त्यो गलत हो । म फुटबलमा फर्किन्छु । तर, मेरो भूमिका एन्फा नेतृत्वमा हुँदैन । मैले राम्रो या नराम्रो गरे पनि आफ्नै कार्यकालमा गरें ।
तर एन्फा नेतृत्वमा राम्रो मान्छे आओस् भन्नेमा म सजग छु । मेरो प्रतिबन्ध फुुकुवा भएपछि एकखाले मान्छेलाई गाह्रो पर्छ । किनभने त्यहाँ भइरहेका अनियमितता बन्द हुन्छन् । अब फेरि ‘ब्याक टु ब्ल्याक टी’ मै जानुपर्छ । सामाजिक कार्य गर्न आएको मान्छेले भत्ता खाएर हरेक कुरामा कमिशन खाएर लुट्न पाइँदैन । मेरो प्रतिबन्ध फुकुवा भएपछि त्यो बन्द हुन्छ । नभए साधारण सभा चल्न सक्दैन । त्यो कुरा म रोक्छु । फुटबलका लागि आएका साधनस्रोत सदुपयोग हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
म फर्किएपछि यस्तो काम हुन दिन्न । खेलाडीको व्यावसायिकतामा विकास हुन्छ । त्यसो नगरे हामी साधारणसभा चल्नै दिँदैनौं । खेलाडीको हकहितनिम्ति बोलिदिने मेरो जिम्मेवारी हो । अब ३/४ वर्षपछि मेरो प्रतिबन्ध फुकुवा होला । त्यसपछि खेलाडीलाई कार, अपार्टमेन्ट नदिने अध्यक्षलाई हामी साधारणसभामा टिक्नै दिँदैनौं त ।
अर्को, क्लब र खेलाडीबीचको सम्झौता अचेल बिग्रिन थालेको छ । हिजोका दिनमा क्लबले खेलाडी राख्नै सक्दैनौं भन्थ्यो त । आर्मी, पुलिस र सशस्त्र प्रहरीलाई लिगमा ल्याउँदा पनि अरू क्लबले हामी सक्दैनौं भन्थे । तर क्लबहरूलाई प्रोत्साहन गरेपछि सक्ने रहेछन् भन्ने प्रमाणित भयो । आखिरमा सबैले प्रायोजक खोजेर ल्याए । खेलाडीलाई १२ महिना नै पाले । अहिले त खेलाडीलाई ४ महिनामात्र राख्ने गर्छन् रे । क्लबलाई खुसी बनाउन खोजेर भोटको राजनीति गर्ने काम भइरहेको छ । खेलाडीको पीरमर्का बुझ्नुपर्दैन ?
म फर्किएपछि यस्तो काम हुन दिन्न । खेलाडीको व्यावसायिकतामा विकास हुन्छ । त्यसो नगरे हामी साधारणसभा चल्नै दिँदैनौं । खेलाडीको हकहितनिम्ति बोलिदिने मेरो जिम्मेवारी हो । अब ३/४ वर्षपछि मेरो प्रतिबन्ध फुकुवा होला । त्यसपछि खेलाडीलाई कार, अपार्टमेन्ट नदिने अध्यक्षलाई हामी साधारणसभामा टिक्नै दिँदैनौं त ।
हुन त मेरो प्रशिक्षक लाइसेन्स छैन । नत्र त कोच पनि हुने इच्छा छ मेरो । त्यो सम्भव नहोला ।
एन्फाबाहिर रहे पनि फुटबलको चाबी त तपाईंकै हातमा छ भन्छन् । त्यही भएर नेतृत्वमा फर्किन्न भन्नुभएको हो ?
कदापि होइन । त्यस्तो साँचो चाबी केही छैन । एउटा कुरा के हो भने साथीभाइले माया गर्छन् । मेरो इमान्दारिता, मैले गरेका काम, एन्फा नेतृत्व रहँदा गरेका निर्णयलगायतका कारण सबैले माया गरेका हुन् । एन्फामा गणेश थापाको गाडी छि¥यो भनेपछि सबै एटेन्सन भएर बस्थे । एन्फामा अनुशासन थियो । आफ्नो काममा लाग्थे । हिजोको नेतृत्वले चाहे राखेपसँग होस् चाहे मन्त्रालयसँग या प्रधानमन्त्रीसँग होस् । आफ्नो निर्णयमा अडान लिएर हिँडेको सबैले देखेका छन् ।
आजको त के भन्ने, हाँसो उठ्छ । उपाध्यक्षले केमा लाइक गर्यो रे कोचले राजीनामा दिएको भन्छ । फेरि प्रशिक्षण पनि गरिराखेको छ । मलाई हाँसो उठ्छ । कोच आएर कार्यसमिति बैठकमा टेबल ठटाउँछ । त्यति सानो विवाद समाधान गर्न नसकेर राखेप र मन्त्रालय पुग्छ । यस्तो किसिमको नेतृत्व भएपछि मलाई सम्झने कुरा स्वाभाविक नै होला ।
भनेपछि अहिलेका नेतृत्वले तपाईंको पीडा पनि कम गरिदिए जस्तो छ त ?
पीडा त के भन्नु ! साँच्चै भन्नुपर्दा, बिहान उठेदेखि भनौं या निद्रा खुल्छ नि तब मेरो पीडा सुरु हुन्छ । सबैभन्दा पीडा त फुटबल बिग्रिएकोमा हुन्छ । एक पटक वर्तमान नेतृत्वले कार्यसमितिमै मसँग माफी माग्नुभयो । उहाँले पछि मैले बोलेकै होइन भन्नुभयो । त्यस्तो फटाहा बोल्नसक्ने मान्छे हो उहाँ । आफैंले बोलेको कुरा होइन भन्न सक्ने । त्यो बेला उहाँले माफी माग्नुभएको भए मेरो पीडा सकिन्थ्यो ।
अहिले त यस्तो भयो कि मैले गर्दै नगरेको गल्तीको सजाय भोग्नुपरेको छ । त्यो कुरामा एक न एकदिन कर्माछिरिङजीले सजाय भोग्नुपर्ला जस्तो लाग्छ ।
अहिले त एन्फा राजनीतिको सबै पक्ष तपाईंको शरणमा पर्न आएका छन् भन्ने छ त ? चुनावका लागि कर्माजीहरू, पंकजजीहरू सबै तपाईंको शरणमा छन्, हो ?
त्यस्तो शरणमा कोही परेका छैनन् । म शरणमा पर्न आऊ पनि भन्दिनँ । मेरो त एउटै कुरा के भने मैले अगाडि भनेका कुराहरू फुटबलमा राम्रो र इमान्दारीपूर्वक हुनपर्यो । त्यो मान्छेलाई मेरो समर्थन हो ।
कर्माछिरिङजीले मलाई कस्ता आरोप लगाउनुभएको छ हेर्नुस् त ? ३२ प्रतिशत ब्याजमा एन्फाको पैसा लगायो भन्छ । गणेश थापालाई जेल हालेर ६० करोड ल्याएर खेलाडी कल्याणकारी कोषमा हाल्छु पनि भन्नुभयो । रंगशालाबाट उठेको २८ करोड, एक रुपैयाँ पनि नबुझाई गणेश थापाले खायो भनेका थिए ।
कर्माजीले माफी माग्नुभयो भने त मलाई सबैजना उस्तै हो नि । को कर्मा, को अर्को । फुटबलमा राम्रो गर्छु भनेर आउने मान्छेलाई मेरो सधैं समर्थन हुन्छ ।
‘यो ५० लाख अक्षय कोषको पैसा कहाँबाट आयो ? ८ करोड पैसा कहाँबाट ल्याइयो ?’ भनेर मलाई आतंककारीको पैसा ल्याए जस्तो गरेर आरोप लगाए । मैले के भन्ने ?
यो तमाम कुराको जवाफ त कर्माजीले दिनुपर्यो नि । अब यी सबै कुरालाई लिएर कर्माजीले माफी माग्नुभयो भने त मलाई सबैजना उस्तै हो नि । को कर्मा, को अर्को । फुटबलमा राम्रो गर्छु भनेर आउने मान्छेलाई मेरो सधैं समर्थन हुन्छ ।
कहिलेकाहिँ उहाँहरू आउनुहुन्छ । मेरो छोरा गौरवलाई महासचिव भइदिनुपर्यो भनेर प्रस्ताव गर्नुहुन्छ । त्यहाँ मेरो छोरालाई बार्गेनिङ गरेर फुटबल ल्याउने जस्तो काममा त्यति तल गिर्छु होला र ? यस्ता प्रस्तावहरू आउँछन् मलाई । तर मलाई यस्ता कुराको मतलब छैन । नेपाली फुटबल राम्रो हुनुपर्यो, जो आए पनि हुन्छ ।
तपाईले बोकेको पक्षचाहिँ खासमा कुन हो त ?
मैले कसैलाई बोकेको छैन । बोक्ने पनि होइन । मेरो कुरा त के हो भने उहाँहरूले लगाएका झुटा आरोपहरू फिर्ता लिनुपर्यो, नत्र प्रमाणित गर्नुपर्यो । तर अझै यस्ता भ्रमहरू फिँजाउने हो भने फुटबलमा एउटा ठूलो लडाइँचाहिँ बाँकी छ ।
सामाजिक सञ्जालमा एकदम सक्रिय हुनुहुन्छ । सुशासन, पारदर्शिताको लामो अर्ती दिइराख्नुहुन्छ । तपाईंले त्यसो गर्न मिल्छ र ?
अघि मैले भनेजस्तै केही मान्छेले मलाई यस्तो यस्तो भए भनेर सुनाउँछन् । अर्को जति पनि लेखेको छु, सुझावका रूपमा दिएको छु । फुटबलमा राम्रो गर् भनेर हो । हिजो यस्तो सञ्जाल थिएन । पत्रपत्रिकाले के लेख्यो भन्ने कुरा मेरा लागि महत्वपूर्ण हुन्थ्यो । तपाईंहरूले लेखेको कुरा मैले मनन गर्थें । गलत भएको खण्डमा तपाईंले लेखेको गलत छ है भनेर झगडा गर्न आउथें । सही कुरालाई मैले ग्रहण गर्थें ।
त्यो बेला मिडियामा त्यसरी नआएको भए म सायद त्यति सजग हुन्नथें होला । आजभोलि मिडियामा त्यस्तो आउँदैन । कम आउँछ । त्यसकारण अहिले मैले लेखेको हो । बिग्रिएको भत्किएको म देख्न सक्दिनँ ।
अहिले पनि मैले के लेखेको छु र ? पुरस्कार समयमा देऊ, लिग राम्रो गर्, खेलाडीलाई १२ महिनाको तलब देऊ, तलब बढाइदेऊ भन्ने सझाव त दिएको छु । मैले लेखेकै कारणले खेलाडीको तलब वृद्धि पनि भयो । बाध्य भएर गर्नुपर्यो । फिफाबाट विकासलाई आएको रकमबाट कटौती गरेर भए पनि खेलाडीको तलब बढाउन बाध्य भए । मैले लेखेको कुराले राम्रो नै भएको छ जस्तो लाग्छ ।
दुर्भाग्य के हो भने मेरो पालामा एन्फामा सानो गल्ती भए पनि सञ्चारमाध्यममा ड्याङ कि ड्याङ आउँथ्यो । सायद त्यो बेला धेरै व्यावसायिकता भएर होला । त्यो बेला मिडियामा त्यसरी नआएको भए म सायद त्यति सजग हुन्नथें होला । आजभोलि मिडियामा त्यस्तो आउँदैन । कम आउँछ । त्यसकारण अहिले मैले लेखेको हो । बिग्रिएको भत्किएको म देख्न सक्दिनँ ।
फिफा कार्यसमितिमा पुग्ने हैसियत भएका र एएफसीको अध्यक्ष हुनसक्ने व्यक्तित्व तपाईंले यति स-साना कुरामा लेख्दा आफ्नै कद घटेन र ?
ती कुराहरू अलि सस्ता भए भन्ने पनि मलाई धेरै ठाउँबाट सुझाव आएको हो । तर, मैले सधै पदभन्दा पनि विशुद्ध खेलाडीको राम्रोका लागि काम गरें । आफैं पनि खेलाडी भएको भएर होला जुनसुकै पदमा पुगे पनि त्यो प्यासन मसँग छ । कतिपयले नलेखे पनि हुन्थ्यो भन्छन् । तर मैले लेखेका कतिपय कुरा कार्यान्वयन भएका छन् । अर्को कुरा, मलाई सन्तुष्टि मिल्छ ।
फुटबलबाहिर हुँदा अचेल कसरी समय व्यतित गरिरहनुभएको छ त ?
अहिले अलि गाह्रै छ । राजनीतिका बारेमा पनि सोच्छु । तर राजनीतिबाट मलाई विरक्त लाग्छ । अर्को कुरा म त क्रेडिबिलिटी भएको मान्छे हुँ । तर खत्तम पारिदिए । आफ्नो क्रेडिबिलिटी नै नभएपछि राजनीतिमा सक्रिय हुन इच्छा लाग्दैन । हरेक मान्छेलाई जफाव दिँदै हिँड्न पनि ठीक लागेन । त्यसकारण राजनीति गर्न मन लागेन ।
यो बीचमा पीडैपीडा भयो । स्वास्थ्य बिग्रियो । जुन किसिमको ‘सक’ हुन्छ नि त्यसबाट बाहिर निस्कन गाह्रो नै भयो । समय लाग्यो ।
अब यो दुई/तीन वर्षको बाँकी समय छ । त्यो समयमा मैले पहिल्यैं गर्न खेजेको काम नेपाल स्पोर्टस अर्गनाइजेसनबाट मकवानपुर जिल्लामा ग्रासरूटको एकेडेमीहरू सञ्चालन गर्नेमा लागेको छु । हेटौंडा महानगरपालिकासँग पनि सम्झौता भएको छ । त्यही किसिमका प्रस्ताव ललितपुर र काठमाडौं महानगरपालिकामा पनि राखेको छु । उहाँहरू सकारात्मक हुनुहुन्छ । अब मलाई लाग्छ, एक महिनाभित्रमा ग्रासरूटका एकेडेमीहरू सञ्चालन गर्ने काममा लाग्छु होला । र, घरायसी काममै व्यस्त छु ।
अन्त्यमा, फुटबलका सरोकारवालालाई केही भन्न चाहनुहुन्छ तपाईं ?
म के भन्छु भने हिजो अपार्टमेन्ट, कार पाउने खेलाडीले आफूभन्दा जुनियरहरूले प्राप्त नगरेकोमा आवाज उठाइदिनुस् । दिने नदिने आफ्नो ठाँउमा छ । तर तपाईंहरूले आवाज उठाइदिनुपर्छ । अर्को अहिले फुटबलमा जुन विद्रोह गरिरहनुभएको साथीहरू हुनुहुन्छ । उहाँहरूलाई पनि फुटबलकै ईस्युमा बोल्नुहोस्, आवाज उठाइदिनुहोस् भनेर सुझाव दिन चाहन्छु ।
वर्तमान नेतृत्वलाई के भन्न चाहन्छु भने साढे तीन वर्ष त तपाईंले त्यसै व्यतित गर्नुभयो, सबै कम्प्रोमाइज गरेर । आएका साधनस्रोतको अतियमितता गर्ने काम भएको छ । खेलाडीको हितमा कुनै काम गर्नुभएको छैन । अझै समय छ, त्यसलाई सुधार्नुस् ।
व्यक्तिगत रूपमा कर्माजीलाई भन्न चाहन्छु कि मलाई लगाएका आरोप प्रमाणित गरिदिनुहोस् । म सजाय भोग्न तयार छु । नभए गल्ती भयो भनेर माफी माग्नुहोस् ।