काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको नाबालिक बलात्कारको मुद्दामा आइतबार तोकिएको सुनुवाई स्थगित भएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतबार सन्दीपको मुद्दामा पेशी तोकेको थियो । सन्दीपको मुद्दाको पेशी न्यायाधीश भोलानाथ ढकालको इजलासमा परेको थियो। तर न्यायाधीश ढकाल बिदामा रहेका कारण सुनुवाइ स्थगित भएको हो ।
सर्वोच्चले यो मुद्दा फास्ट ट्रयाकबाट छिट्टै किनारा लगाउन जिल्ला अदालतलाई आदेश दिए बारम्बार पनि पेशी स्थगित हुँदै आएकाे छ।
कात्तिक १८ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले थुनछेक बहसका क्रममा सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
उक्त आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । उच्च अदालतले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।
गत फागुनमा सन्दीपले आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि युएई जानु पर्ने भएकाले विदेश जान अनुमती माग्दै सर्वोच्चमा निवदेन दिएका थिए ।
सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेश उल्टाउनु पर्ने माग राख्दै महान्यायाधिवत्ताको कार्यलय पनि सर्वोच्च पुगेको थियो ।
सर्वोच्चले सन्दीपलाई विदेश जान अनुमती दिनुका साथै उच्च अदालत पाटनको फैसला सदर गरेको थियो ।
जाहेलवालीले राहत पाउनु पर्ने मागसहित निवेदन लिएकी थिइन । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले तत्काल राहत दिनु नपर्ने आदेश दिएको थियो ।
सन्दीपविरुद्ध भदौ २१ मा गौशाला प्रहरी वृत्तमा नाबालिक बलात्कारको जाहेरी परेको थियो । सन्दीपमाथि भदौ ५ मा सिनामंगलको एक होटलमा लगेर नाबालिकमाथि पटक पटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ ।