किलियन एमबाप्पे

एमबाप्पे ला लिगा भित्रिनेमा विश्वस्त टेबास

मड्रिड । स्पेनिस ला लिगाका अध्यक्ष जेभियर टेबासले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर किलियन एमबाप्पे सिजनको अन्त्यसँगै रियाल मड्रिड अनुबन्धित हुने विश्वास व्यक्त गरेका छन् ।

एमाबाप्पेले च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिडविरुद्ध अन्तिम मिनेटमा गोल गरेपछि पिएसजी १–० ले विजयी भएको थियो ।

विश्वविजेता फ्रेन्च टिमका स्ट्राइकर एमबाप्पेले यस सिजन पिएसजीबाट ३२ खेलमा २२ गोल र १३ असिस्ट गरेका छन् ।

‘मड्रिडले एमबाप्पे र हाल्यान्डलाई भित्र्याउने छ । किनकी बार्सिलोना र युभेन्टसले आर्थिक रुपमा मड्रिडभन्दा आधामात्र प्रस्ताव गर्न सक्छन्,’ टेबासले भने, ‘एमबाप्पे ला लिगामा आउनु निकै ठुलो कुरा हो । यो ला लिगाको लागि सबैभन्दा खुसीको क्षण हुनेछ ।’

रियाल मड्रिडसँगको जितपछि एमबाप्पेले भने आफूले भविष्यबारे कुनै निर्णय नगरेको बताएका थिए ।

‘म विश्वकै उत्कृष्ट क्लबबाट खेल्दैछु । यस सिजन म पिएसजीका लागि आफ्नो उत्कृष्ट दिनेछु । मैले भविष्यको बारेमा कुनै निर्णय गरेको छैन । म पिएसजीको खेलाडीका रुपमा खुसी छु,’ एमबाप्पले भने ।