काठमाडौं । पोखरामा शनिबारबाट सुरु हुने दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपमा नेपालको कप्तानी सेन्ट्रल मिडफिल्डर सुशीला केसीले गर्ने भएकी छन् ।
उमेर समूहमा छैटौंपटक नेपालको प्रतिनिधित्व गर्न लागेकी सुशीला केसीले माथिल्लो उमेर समूहको चौथो ‘अटेम्प्ट'मा क्याप्टेन आर्मब्यायण्ड हासिल गरेकी हुन् ।
सन् २०२२ मा बंगलादेशको ढाकामा सम्पन्न साफ यु-१५ च्याम्पियनसिपमा नेपालले उपाधि चुम्दा सुशीला प्रमुख खेलाडी थिइन् । त्यसयता उनले चार प्रतियोगितामा देशको प्रतिनिधित्व गरिन् । सबैमा उनी सेटको निर्विकल्प मिडफिल्डर रहिन् । यु-१५ यता उनले जोर्डनमा भएको एएफसी यु-१७ छनोट, ढाकामै सम्पन्न साफ यु–१९/२० च्याम्पियनसिप र अघिल्लो वर्ष थिम्पुमा एएफसी यु-२० छनोटमा नेपालको जर्सी लगाए ।
सन् २०२४ मा ढाकामा सम्पन्न साफ यु-१९ च्याम्पियनसिपमा सारा बज्राचार्यले टोलीको नेतृत्व गरेकी थिइन् । त्यसपछि गत वर्ष सम्पन्न साफ यु-२० र एएफसी यु-२० छनोटमा आर्मब्याण्डको जिम्मेवारी विर्सना चौधरीलाई दिइएको थियो । यसबीच दशरथ रंगशालामा सम्पन्न भुटान यु-१९ विरुद्धको मैत्रीपूर्ण खेलमा कुसुम खतिवडाले आर्मब्याण्ड लगाइन् ।

सुशीला लामो दूरीको गोलका लागि नेपाली महिला फुटबलवृत्तमा चिन्ने गर्छिन् ।
भुटानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले १-१ को बराबरी खेलेको थियो । त्यतिबेला नेपालका लागि सुशीलाले नै गोल गरेकी थिइन् ।
ढाकामा यु-१५ च्याम्पियनसिप डबल राउन्ड रोविन लिग पद्धत्ति अनुसार खेलाइएको थियो । जतिबेला नेपालले आफ्नो अन्तिम तथा निर्णायक खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गरेको थियो । नेपाललाई जितका लागि एक अंक आवश्यक थियो । त्यतिबेला पनि सुशीलाले नेपाललाई अग्रता दिलाएकी थिइन् । बंगलादेशलाई १-१ को बराबरीमा रोक्दै नेपाल च्याम्पियन बनेको थियो ।
बंगलादेश र भुटानविरुद्ध गरिएका दुबै गोल पेनाल्टी बक्स बाहिरबाट गरिएको प्रहारबाट सम्भव भएका थिए ।

मुख्य प्रशिक्षक सुमन श्रेष्ठको नेतृत्वमा नेपालले प्रतियोगिताको पहिलो दिन दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो ३ बजे हुनेछ । त्यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानसँग खेल्ने तालिका छ ।
दिन बिराएर हुने प्रतियोगितामा नेपालले फेब्रुअरी २ मा भुटानको सामना गर्नेछ । त्यसपछि फेब्रुअरी ४ मा बंगलादेशसँग खेल्नेछ । सिंगल राउन्ड रोविन लिगपछि अंकतालिकाको शीर्ष दुईमा अटाउने टोलीले फाइनलमा स्थान बनाउनेछन् ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।

यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।
माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ ।
