काठमाडौं । एन्फा राष्ट्रिय लिगमा शनिबार मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा मछिन्द्रले प्लानिङ ब्वाइजको चुनौती २–० ले पन्छायो । मछिन्द्रलाई लगातार तेस्रो खेलमा जित दिलाउन सौरभ लिम्बू र जोनाथन क्यान्टिलानाले गोल गरे ।
दिनको दोस्रो खेलमा विभागीय टोली आर्मीले चित्लाङ एफसीमाथि ५–१ को पुनरागमन जित हसिल गर्यो । यो खेल पनि दशरथ रंगशालामै भएको थियो ।

चित्लाङले म्याथ्यु बाबाटुण्डेको गोलमार्फत पहिलो हाफको २८औं मिनेटमा सुरुआती अग्रता लिएको थियो । पछि आर्मीका लागि दीनेश हेन्जनले दुई तथा नवयुग श्रेष्ठ, नवीन लामा र नरेन चौधरीले समान एक गोल गरे ।
लिगमा अपराजित आर्मीको यो दोस्रो जित हो । चित्लाङको यो पहिलो हार हो ।
लिगमा आइतबार तीन खेल हुनेछन् । बिहान ११ बजे सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने पहिलो खेलमा न्युरोड टिम(एनआरटी) र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो र तेस्रो खेल दशरथ रंगशालामा हुनेछन् । दिउँसो २ बजे संकटा एफसी र नेपाल एपिएफ क्लबले एकअर्कासँग खेल्नेछन् । त्यसपछि साँझ ६ः३० बजे जावलाखेल युवा क्लब र चर्च ब्वाइज युनाइटेड आमने–सामने हुनेछन् ।
