काठमाडौं । घरेलु फुटबलका अनुभवी सेन्ट्रल मिडफिल्डर रुपेश केसीले फ्रेन्ड्स क्लबबाटै आसन्न एन्फा राष्ट्रिय लिग खेल्ने भएका छन् ।
बिहीबार कुपण्डोलको फ्रेन्ड्सले फेसबुकमार्फत पूर्व अन्तर्राष्ट्रिय खेलाडी रुपेशलाई अनुबन्ध गरेको जानकारी गरायो ।
तीन वर्ष अगाडि सम्पन्न पछिल्लो सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रुपेशले फ्रेन्ड्स क्लबकै जर्सी लगाएका थिए । त्यसयता उनी मोफसलका प्रतियोगिताहरुमा पाटनको थ्री स्टारको जर्सीमा देखिरहेका थिए ।
उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्मको यात्रा गरेका रुपेश एन्फा एकेडेमीका उत्पादन हुन् । करिअरको उत्तरार्धमा रहेका रुपेशसँग थ्री स्टार, मनाङ मर्स्र्याङ्दी जस्ता ठूला क्लबहरुबाट शीर्ष डिभिजन लिग खेलेको अुनभव छ ।
पछिल्लो समय खेलाडीहरु सुनौलो भविष्यको खोजीमा विदेश पलायन भइरहँदा रुपेशले भने घरेलु फुटबलमा युवा जोशहरुलाई मैदानमा उर्जा दिइरहेका छन् ।

रुपेशसँगै गोलकिपर मौसम लुङ्गेली मगर, विंगर दीपेश घले, मिडफिल्डर प्रशान्त लक्सम, फरवार्डद्धय आशिष चापागाई र राजेश परियारले यसपाली फ्रेन्ड्सको जर्सी लगाउँदै छन् ।
राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।
तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।
