काठमाडौं । घरेलु फुटबलका सफल प्रशिक्षक सुमन श्रेष्ठले साफ यु-१९ महिला च्याम्पियनसिप २०२६ मा नेपालको टचलाइन सम्हाल्ने भएका छन् ।
मंगलबार श्रेष्ठले अखिल नेपाल फुटबल संघ(एन्फा)का महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गरे ।
पछिल्लो समय सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई मोफसलका प्रतियोगितामा ‘लिड’ गरिरहेका श्रेष्ठले चार महिनाअघि सम्पन्न एन्फा राष्ट्रिय महिला लिग छनोटमा महिला टोलीको पनि नेतृत्व गरेका थिए ।
मोफसलमा चर्च ब्वाइजलाई आधा दर्जनभन्दा बढी उपाधि दिलाएका श्रेष्ठले महिला टोलीलाई राष्ट्रिय लिगमा छनोट गराउन सफल भए । यसबीच नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा उनकै नेतृत्वमा पोखरा थण्डर्सले फाइनलसम्मको यात्रा गरेको थियो ।

गत मंसिरमा सम्पन्न एन्फा प्रेसिडेन्ट लिगमा श्रेष्ठले चित्लाङ एफसीको टचलाइन सम्हालेका थिए । चित्लाङले फाइनलमा लालिगुँरास एसोसिएसन क्लबसँग पेनाल्टी सुटआउटमा हार बेहोरेको थियो ।
हेटौंडास्थित गौरिटार रंगशालामा सम्पन्न प्रतियोगितामा चित्लाङलाई राष्ट्रिय लिगमा छनोट गराएका श्रेष्ठले त्यसपछि गत महिना सम्पन्न ‘सी’ डिभिजन छनोटमा नेपालगन्ज ११ स्पोर्टिङ क्लबलाई च्याम्पियन बनाउन योगदान गरे । उनी प्रशिक्षण टोलीका सदस्य थिए ।
घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीको पनि जिम्मेवारी सम्हालिसकेका श्रेष्ठले आसन्न एन्फा राष्ट्रिय लिगमा सातदोबाटो युवा क्लबको टचलाइन सम्हाल्ने अनुमान गरिएको थियो । तर, मंगलबार उनलाई एन्फाले राष्ट्रिय यु-१९ टोलीको नयाँ प्रशिक्षकका रुपमा सार्वजनिक गरेको हो ।

त्यस्तै एन्फाले गोलकिपर प्रशिक्षकमा राजु सिंह महर्जनलाई नियुक्त गरेको छ ।
साफ यु-१९ च्याम्पियनसिपको छैटौं संस्करण पोखरामा जनवरी २९ देखि फेब्रुअरी ९ सम्म पोखरामा हुँदैछ । विभिन्न स्रोतका अनुसार एन्फाले बिहीबारसम्ममा प्रतियोगिताका लागि प्रारम्भिक टोली घोषणा गर्नेछ ।
सिनियरतर्फ तीनपटक र तल्लो उमेर समूहतर्फ एकपटक साफ महिला च्याम्पियनसिपको आयोजना गरेको नेपालले पहिलो पटक माथिल्लो उमेर समूहमा साफ टोलीको आतिथ्यता गर्दैछ ।

यसअघि सन् २०२४ मा नेपालले साफ यु-१६ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यही वर्ष सिनियरतर्फ पनि नेपालले आयोजनाको अवसर पाएको थियो ।
माथिल्लो उमेर समूहमा नेपाल तीनपटक उपविजेतामा सीमित भएको छ । गत जुलाईमा ढाकामा सम्पन्न यु-२० च्याम्पियनसिपमा यमप्रसाद गुरुङको नेतृत्वमा रहेको नेपालले दोस्रो स्थान हासिल गरेको थियो ।
