काठमाडौं । एटलान्टालाई १–० ले हराउँदै इन्टर मिलान इटालियन सिरी ए को शीर्ष स्थानमा फर्किएको छ ।
आइतबार राति भ्रमणकारी टोली इन्टरको जितमा लौटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए । उनले खेलको ६५औं मिनेटमा इस्पोसिटोको पासमा गोल गरेका हुन् । यसअघि खेलको ३५औं मिनेटमा मार्कुस थुरामले गोल गरेपनि भिडियो असिस्टेन रेफ्रीले त्यसलाई मान्यता नदिँदा मिलान दबाबमा आएको थियो ।
जितपछि एसि मिलानलाई पछि पार्दै इन्टर पुनः शीर्ष स्थानमा फर्किएको छ । सिरी ए मा शीर्ष पाँच क्लबबीच मात्र ४ अंकको अग्रता रहेको छ ।
इन्टरको १६ खेलबाट ३६ अंक छ । दोस्रो स्थानमा रहेको मिलानको समान खेलबाट ३५ तथा नापोलीको ३४ अंक छ । युभेन्ट्सको ३२ अंक छ । पराजित एटलान्टा २२ अंकसहित दशौं स्थानमा छ ।
राति नै भएको अन्य खेलमा युभेन्ट्सले नयाँ टोली पिसालाई २–० तथा एसि मिलानले हेलास भरोनालाई ३–० ले हराएका थिए । यता, नापोलीले क्रेमोनेसलाई २–० ले हराएको हो ।
