काठमाडौं । कुपण्डोलको फ्रेन्ड्स क्लबले आसन्न एन्फा राष्ट्रिय लिगका लागि उदीयमान गोलकिपर मौसम लुङ्गेली मगरलाई अनुबन्ध गरेको छ ।
आइतबार फरवार्डद्धय आशिष चापागाईँ र राजेश परियारलाई क्लबमा भित्र्याएको जानकारी दिएको फ्रेन्ड्सले एक दिनपछि मौसमलाई सार्वजनिक गरेको हो । यसबीच सोमबारनै फ्रेन्ड्सले विंगर दीपेश घलेलाई पनि क्लबमा अनुबन्ध गरेको जानकारी गरायो ।
गत वर्षको जेठमा सम्पन्न सहिद स्मारक ‘सी’ डिभिजन लिगमा प्रशंसनीय प्रदर्शन गरेपछि एकाएक चर्चा कमाएका मौसम नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणमा काठमाडौं रेजर्ससँग आबद्ध थिए । यसबीच उनले मोफसलका प्रतियोगिताहरुमा पाटनको थ्री स्टार क्लबको प्रतिनिधित्व गरे ।
‘सी’ डिभिजनमा मौसमको प्रदर्शनप्रेरित सुर्खेतको आरसी ३२ दोस्रो स्थानमा रहँदै दोस्रो डिभिजनमा बढुवा भएको थियो ।

राष्ट्रिय लिग यही पुस २५ बाट सुरु हुँदैछ । प्रतियोगितामा शीर्ष डिभिजनका १३ र प्रेसिडेन्ट लिगबाट छनोट भएका चारगरि कूल १७ टोलीको सहभागिता रहनेछ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग होम एण्ड अवे स्वरुपमा गर्ने, एउटै मैदानमा गर्ने र राष्ट्रिय लिग गर्ने जस्ता विभिन्न विकल्पमाथि पटकपटक विवादास्पद छलफल तथा आन्दोलनहरुपछि एन्फाले हालै क्लबहरुसँगको सहमतीमा पुष २५ बाट राष्ट्रिय लिग गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय लिगमा जिल्ला र प्रदेश च्याम्पियन हुँदै आएका टिमबीचको प्रतिस्पर्धा एन्फा प्रेसिडेन्ट्स लिगका शीर्ष ४ तथा अघिल्लो शीर्ष डिभिजन लिगका शीर्ष ६ टोली गरि १० टिमले मात्र खेल्न पाउने प्रावधान थियो ।
तर एन्फा र क्लबहरुको सहमतीपछि राष्ट्रिय लिगका लागि छनोट नै नभएका बाँकी ‘ए’ डिभिजन लिगका टिमले पनि खेल्न पाउने भएका हुन् । जसअनुरुप शीर्ष डिभिजनका हिमालयन शेर्पा बाहेक सबै १३ क्लब र प्रेसिडेन्ट्स लिगका शीर्ष चार गरि १७ टिमको सहभागितामा राष्ट्रिय लिग आयोजना हुँदैछ । एन्फाले यसका लागि टिम दर्ता फारम खुला गरेको थियो ।
