काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु-१६ युथ लिगको उपाधि जितेको छ ।
सोमबार लिगको अन्तिम तथा निर्णायक खेलमा जावलाखेल युवा क्लबलाई ६-० ले हराएसँगै पुलिस च्याम्पियन बनेको हो । उपाधिमा आफ्नो दाबेदारी अन्तिम खेलसम्म दिएको मछिन्द्र क्लबले फ्रेन्ड्स क्लबसँग ३-२ को हार बेहोर्दा पुलिसले स्पष्ट तीन अंकको अग्रता लिँदै उपाधि चुम्यो ।
अन्तिम खेल खेल्नुअघि पुलिस र मछिन्द्र दुबैले ५८ अंक जोडेका थिए । गोल भिन्नताका आधारमा पुलिस अगाडि थियो । दुबैलाई उपाधि चुम्न जितबाहेक विकल्प थिएन । तर, मछिन्द्रले लयमा रहेको फ्रेन्ड्स क्लबसँग अप्रत्याशित ३-२ को हार बेहोर्यो । मछिन्द्रलाई हराएपछि फ्रेन्ड्स तेस्रो भयो । ५७ अंक जोडेको फ्रेन्ड्सले मनाङ मर्स्र्याङ्दीलाई उछिन्यो ।
च्यासल मैदानमा दिउँसो २ बजे भएको खेलमा पुलिसलाई जित दिलाउन रिजनराज गौतमले ह्याट्रिक गरे । त्यस्तै समीर कुमारले दुई तथा अभिशेष कुमार श्रेष्ठले एक गोल गरे ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालय मैदानमा सोही समय सुरु भएको खेलमा मछिन्द्र अन्तिम समयमा सम्हालिन सकेन । खेलको चौथो मिनेटमा फ्रेन्ड्सले आर्यन काजी थापाको गोलमा अग्रता बनाएको थियो । २१औं मिनेटमा राहुल कुमार योञ्जनले बराबरी गोल फर्काए । दोस्रो हाफमा जानुअघि विकास थापाको गोलमा मछिन्द्र २-१ ले अगाडि बढ्यो ।
दोस्रो हाफको तेस्रो मिनेटमै फ्रेन्ड्स खेलमा फर्कियो । सुजन विकले बराबरी गोल गरे । ९०औं मिनेटमा पुरन श्रेष्ठले गोल गरेपछि फ्रेन्ड्सले जित सुनिश्चित गर्यो ।
उपाधिसँगे पुलिसले ट्रफीसहित एक लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता मछिन्द्रले ५० हजार रुपैयाँमा चित्त बुझायो । पुलिसका समीर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ट्रफीसहित १५ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै मनाङका गोलकिपर विशाल गुरुङ सर्वोत्कृष्ट गोलकिपर चुनिँदा २० गोल गरेका मछिन्द्रका विकाश थापाले सर्वाधिक गोलकर्ताको पुरस्कार जिते । यी दुईले पनि ट्रफीसहित १५ हजार रुपैयाँ प्राप्त गरे ।
लिगमा मात्र एक खेल जितेको सातदोबाटो युवा क्लब अंकतालिकाको पुछारमा रह्यो । त्यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लब र प्लानिङ ब्वाइज युनाइटेड क्रमशः पुछारबाट दोस्रो र तेस्रो स्थानमा रह्यो ।
