काठमाडौं । दुई गोलले पछाडि परेको स्थितीलाई उल्टाउँदै एसी मिलानले इटालियन सिरी ‘ए’ मा सोमबार टोरिनोविरुद्ध ३-२ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको छ ।
जितसँगै १४ खेलमा ३१ अंक जोडेको मिलान शीर्ष स्थानमा उकिलएको छ । पराजित टोरिनो समान खेलबाट १४ अंकका साथ १६औं स्थानमा छ ।
ओलिम्पिको डी टोरिनोमा पाहुना टोली मिलानलाई जित दिलाउन क्रिश्चियन पुलिसिकले दुई र एड्रियन राबियोटले एक गोल गरे । टोरिनोका लागि निकोला भ्लासिक र डुभान जापाटाले गोल गरे ।
खेलको १०औं मिनेटमा भ्लासिकले पेनाल्टीमार्फत गोल गर्दै टोरिनोलाई अग्रता दिलाएका थिए । सात मिनेटपछि नै जापाटाले टोलीको अग्रता दोब्बर बनाए ।
राबियोटले २४औं मिनेटमा गोल गर्र्दा खेल २-१ को स्थितीमा पुग्यो । ६७औं मिनेटमा पुलिसिकले मिलानलाई २-२ को बराबरीमा ल्याए ।
त्यसको १० मिनेटपछि पुलिसिकले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनरागमन जित दिलाए ।
