काठमाडौं । बिहीबार ६ खेल सम्पन्न भएसँगै युइएफए च्याम्पियन्स लिग २०२५/२६ सिजनको पहिलो चरण सकिएको छ । बिहीबार स्पेनिस महारथी बार्सिलोनाले इङ्लिस क्लब न्युक्यासल युनाइटेडको चुनौती पन्छायो । अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीले भने आफ्नो खेलमा विजयी हासिल गर्योे ।
समग्रमा यस्तो रह्यो पहिलो चरणको तेस्रो दिनः
चम्किए रासफर्ड
न्युक्यासलविरुद्ध सुपरस्टार विंगर लामिन यमालको अनुपस्थितिले बार्सिलोना समर्थकलाई निराश बनाएको थियो । तर, यमाललाई प्रतिस्थापन गरेका मार्कस रासफर्डले उनको कमि महसुस हुन दिएनन् । रासफर्डका लागि बार्सिलोनाको जर्सीमा पहिलो च्याम्पियन्स लिग खेल थियो । यसै सिजन रासफर्ड म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना पुगेका थिए ।
रासफर्डले सेन्ट जेम्स पार्कमा दुई गोल गरे । न्युक्यासलका लागि एन्टोनी गोर्डनले गोल फर्काए । तीनै गोल दोस्रो हाफमा भएका थिए ।
इत्तिहाद फर्किए डी ब्रुएना
यसै सिजन इटालियन क्लब नापोलीमा अनुबन्ध भएका अट्याकिङ मिडफिल्डर केभिन डी बु्रएना इत्तिहाद रंगशाला फर्किएका छन् । ३४ वर्षीय डी ब्रुएनाले १० सिजन म्यानचेस्टर सिटीमा बिताएका थिए ।
स्ट्राइकर इर्लिङ हालान्ड र विंगर जेरेमी डोकुको गोलमा सिटीले नापोलीमाथि २–० को जित हासिल गर्यो । खेल सकिएपछि सिटीका समर्थकले डी ब्रुएनाको नाम ‘च्यान्ट’ गरिरहेका थिए ।
डी ब्रुएनालाई क्लब इतिहासकै महान खेलाडीका रुपमा लिने गरिन्छ ।
मोनाकोको हार
फ्रेन्च क्लब मोनाकोले बेल्जियमको क्लब ब्रुगसँग ४-१ को हार बेहोर्यो । पहिलो हाफमा तीन गोल गरेको क्लब ब्रुगले दोस्रो हाफमा एक गोल थपेको हो । क्लब ब्रुगका लागि स्ट्राइकर निकोलो ट्रेसओल्ठी, कप्तान हान्स भानाकेन, मिडफिल्डर राफायल ओनिदीका र विंगर ममदु दियाखोनले गोल गरे । इन्जुरी समयमा मोनाकोका लागि अन्सु फातीले एक गोल फर्काए ।
कोपनहेगन र लेभरकुसनको रोमाञ्चक बराबरी
डेनमार्कको एफसी कोपनहेगन र जर्मन क्लब बायर लेभरकुसनले २-२ को रोमाञ्चक बराबरी खेल्यो । इन्जुरी समयमा आत्मघाती गोल उपहार पाउँदा लेभरकुसनले हार टारेको हो ।
पार्केन रंगशालामा पाहुना टोली लेभरकुसनका लागि मिडफिल्डर अलेजान्ड्रो ग्रिमाल्डोले गोल गरे । कोपनहेगनका मिडफिल्डरद्धउ जोर्डन लार्सन र रोबर्न सिल्भाले गोल गरे ।
लार्सनले खेलको नवौं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ८२औं मिनेटमा ग्रिमाल्डोले लेभरकुसनलाई खेलमा फर्काए । पाँच मिनेटपछि सिल्भाले गोल गर्दा कोपनहेगन स्पष्ट तीन अंकका लागि अगाडि बढेको थियो । तर, इन्जुरी समयमा आत्मघाती गोल हुन पुग्यो ।
अन्य नतिजाः
स्पोर्टिङ क्लब डी पोर्चुगल ४-१ काइरात अल्माटी
फ्रान्कफर्ट ५-१ गालाटासारे