काठमाडौं । अग्रता जोगाउन नसक्दा साउदी अरेबियन क्लब अल इत्तिहाद एएफसी च्याम्पियन्स लिग एलिटको आफ्नो पहिलो खेलमा सोमबार युएईको अल वाहद क्लबसँग २-१ ले पराजित भएको छ ।
अल नाह्यान रंगशालामा घरेलु टोली वाहदलाई जित दिलाउन कायो क्यानेडो र लुकास पिमेन्टाले गोल गरे । इत्तिहादका लागि स्टिभन बर्गविजनले गोल गरे ।
खेलको २१औं मिनेटमा बर्गविजनको गोलमार्फत इत्तिहादले अग्रता लिएको थियो । ३७औं मिनेटमा रक्षक मुहन्नद अल शानकीतीले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि इत्तिहाद १० खेलाडीमा समेटिएको थियो ।
क्यानेडोले ६२औं मिनेटमा वाहदलाई बराबरीमा ल्याए । अतिरिक्त समयमा पिमेन्टाले गोल गर्दै वाहदलाई सुखद सुरुआत दिलाए ।
सोमबारै सम्पन्न अन्य खेलमा साबिक विजेता अल अहलीले एफसी नासफलाई ४-२ तथा सारजाह एफसीले अल घराफा एससीलाई ४-३ ले पराजित गरे । यसैगरी अल शोर्टा एससी र अल साद एससी १-१ को बराबरीमा रोकिए ।