काठमाडौं । पोर्चुगलले फिफा विश्वकप युरोपियन छनोटमा विजयी सुरुआत गरेको छ ।
समूह ‘एफ’ अन्तर्गत शनिबार सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोली अर्मेनियाविरुद्ध ५-० को एकतर्फी जित निकाल्यो ।
भाजगेन सार्गस्यान रिपब्लिकन रंगशालामा पाहुना टोली पोर्चुगललाई जित दिलाउन जोआओ फेलिक्स र कप्तान क्रिस्टियानो रोनाल्डोले समान दुई तथा जोआओ कान्सेलोले एक गोल गरे ।
खेलको १०औं मिनेटमा फेलिक्सको गोलमार्फत पोर्चुगलले अग्रता लिएको थियो । ११ मिनेटपछि रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाए ।
कान्सेलोले ३२औं मिनेटमा गोल गर्दा पोर्चुगलले पहिलो हाफमा ३-० को आरामदायी अग्रता लियो ।
रोनाल्डोले दोस्रो हाफको सुरुआतमै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । ६१औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलले ५-० को एकतर्फी जित दर्ता गर्यो ।
यही समूहको अर्को खेलमा आयरल्यान्ड र हंगेरीले २-२ को बराबरी खेले ।