काठमाडौं । दुई वर्षपछि घरेलु भूमिमा फर्किएको अन्तर्राष्ट्रिय फुटबलमा नेपाल जित निकाल्न असफल भएको छ । नेपालले बंगलादेशविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले गोलका लागि एकाध अवसर प्राप्त गरेका थिए । तर, त्यसलाई सदुपयोग गर्न सकेनन् ।
दुबै टोलीबाट सुरुआती ४५ मिनेटमा समान एक ‘सट्स अन टार्गेट’ सम्भव भएका थिए । यी दुबै अबसरमा गोलकिपर बाधक बन्दा कुनै पनि टोलीले अग्रता लिन सकेन ।
खेलको १०औै मिनेटमा बंगलादेशले पहिलो खतरा बुनेको थियो । कप्तान जमल भुयाँको कर्नर क्रसमा राकिब होसेनको हेडमार्फत बललाई पोस्टको दिशा दिएका थिए । तर, गोलकिपर किरण चेम्जोङले नेपालको खतरा टारिदिए ।
खेलको मध्यतिर फ्रिकिक अवसरमा नेपाल गोलको निकै करिब पुगेको थियो । लेफ्ट साइडबाट मिडफिल्डर मणि लामाको प्रहारमा रक्षक अनन्त तामाङले हेडमार्फत बललाई दोस्रो बारको दिशा दिएका थिए । तर, गोलकिपर मोहम्मद सुजोन होसेन ‘अलर्ट’ रहँदा बंगलादेशी खेलाडीले राहतको सास फेर्यो । यसअघि अञ्जन विष्ट भुयाँबाट फउल भएका थिए । जसका कारण नेपालले सेटपीस अवसर प्राप्त गरेको थियो ।
पहिलो खतरा बुनेको केही मिनेटमै नेपालले त्यही क्षेत्रमा अर्को फ्रिकिक अवसर प्राप्त गर्यो । फेरि एकपटक मणि बलमा थिए । तर, यसपाली उनको प्रहारलाई सुजोनले सहजै नियन्त्रणमा लिए ।
निर्धारित पहिलो हाफ सकिन ६ मिनेट बाँकी रहँदा सुमोन रेजाले गरेको प्रहार क्रस–बारभन्दा माथिबाट बाहिरयो । किरण अगाडि आएको मौकामा सुमोनले बक्स भित्रबाट गोलको प्रयास गरेका थिए ।
खेलको ६८औं मिनेटमा फरवार्ड जिलेश्पीजंग कार्कीले बक्स बाहिरबाट गरेको शक्तिशाली प्र्रहार सुजोनले बचाए ।
१० मिनेटपछि बैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मोहम्मद ताज उदीनले बक्स बाहिरबाट गोलको प्रयास गरे । उनको प्रहारलाई किरणले कठिनाईका साथ नियन्त्रणमा लिएका थिए ।
दोस्रो मैत्रीपूर्ण खेल सेप्टेम्बर ९, मंगलबार हुनेछ ।