काठमाडौं । अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु–२३ एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ ।
शनिबार छनोट प्रतियोगिताको दोस्रो खेलमा सिरियासँग ४–२ को पराजय बेहोरेपछि एक खेलअगावै नेपालको चुनौती सकिएको हो । एक समय २–१ को अग्रता बनाएको नेपालले पछि तीन गोल खाएको हो ।
छनोट प्रतियोगिताको समूह ‘के’मा रहेको नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली ताजकिस्तानसँग ४–० ले निराश बनेको थियो ।
सिरियाको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा फिलिपिन्सविरुद्ध २–१ को जित हासिल गरेको सिरियाले निर्णायक खेलमा मंगलबार ताजकिस्तानसँग खेल्नेछ ।
दुशान्बेस्थित पामिर रंगशालामा सम्पन्न खेलमा सिरियालाई जित दिलाउन मोहम्मद अलमुस्ताफा, अली अलरिना, महमुद अलस्वद र महमुद नयिफले गोल गरे । एक गोलले पछाडि परेको अवस्थानमा नेपाललाई निराजन धामी र सुमित श्रेष्ठले अग्रतामा ल्याएका थिए ।
नेपालले आफ्नो अन्तिम खेलमा मंगलबार फिलिपिन्ससँग खेल्नेछ । खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे हुनेछ ।