काठमाडौं । झापा एफसीले एन्फा महिला लिग छनोटमा आइतबार नेपाल वेस्ट म्यानेजमेन्ट टिमविरुद्ध ७-० को एकतर्फी जित दर्ता गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा झापालाई जित दिलाउन एल्मा राईले ह्याट्रिक गर्दा पुष्पाकुमारी खड्काले दुई तथा सुनकला राई र मनिता तामाङले समान एक गोल थपे ।
खेलको १७औं मिनेटमा सुनकलाको गोलमार्फत झापाले अग्रता लिएको थियो । आठ मिनेटपछि नै एल्माले टोलीको अग्रता दोब्बर बनाइन् ।
एल्माले ५७औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन् । ६८औं मिनेटमा पेनाल्टीमा चुक्दा एल्माले ह्याट्रिक गर्ने अवसर गुमाइन् ।
मनिताले ८१औं मिनेटमा गोल गर्दा झापा ४-० ले अगाडि बढ्यो । पुष्पाले ८५ र ८७औं मिनेटमा गोल गर्दा झापाको अग्रता ६-० मा पुग्यो ।
एल्माले निर्धारित समयको अन्तिम मिनेटमा ह्याट्रिक पूरा गरिन् ।
आइतबार सम्पन्न पहिलो खेलमा स्टुडेन्ट एफसीले सिन्धुपाल्चोक एफसीविरुद्ध ३-१ को जित दर्ता गर्यो ।