काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा यु-१६ युथ लिगमा आइतबार सातदोबाटो युथ क्लबविरुद्ध ७-० को एकतर्फी जित दर्ता गरेको छ ।
जितसँगै १० खेलमा १३ अंक जोडेको जावलाखेल नवौं स्थानमा छ । १० वटै खेलमा पराजित सातदोबाटो अंकविहिन छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन पुजन सुनारले दुई तथा समीर लोप्चन, प्रिन्स भुजेल, विशाल शाही, सुमित वाइबा विविधराज राईले समान एक गोल गरे ।
खेलको चौथो मिनेटमा समीरको गोलमार्फत जावलाखेलले अग्रता लिएको थियो । आठ मिनेटपछि नै प्रिन्सले टोलीको अग्रता दोब्बर बनाए ।
विशालले २८औं मिनेटमा जावलाखेलका लागि तेस्रो गोल गरे । ४५औं मिनेटमा सुमितले गोल गर्दा जावलाखेलको अग्रता ४-० मा पुग्यो ।
पहिलो हाफको इन्जुरी समयमा विविधले गोल गर्दा जावलाखेल ५-० ले अगाडि बढ्यो । पुजनले ६७ र ६९औं मिनेटमा गोल गर्दा जावलाखेलले ७-० को सानदार जित दर्ता गर्यो ।