काठमाडौं । ओलिभर जिरुड फ्रेन्च लिग वान क्लब लिलेमा अनुबन्ध गरेका छन् ।
फ्रेन्च स्ट्राइकर जिरुड मेजर लिग सकर (एलएलएस) क्लब लस एन्जलस एफसी छाडेर लिले भित्रिएका हुन् । उनले क्लबसँग एक वर्षको सम्झौता गरेका छन् ।
जिरुड गत वर्ष इटालियन क्लब एसी मिलान छाडेर लस एन्जलस पुगेका थिए । उनले क्लबका लागि २० लिग खेलमा तीन गोल गरे ।
उनी १३ वर्षपछि फ्रेन्च लिगमा फर्किएका हुन् । उनले पछिल्लो पटक सन् २०११-१२ को सिजनमा मोन्टपेलियरबाट फ्रेन्च लिग वान जितेका थिए ।
जिरुड सन् २०१२ मा इङ्लिस क्लब आर्सनल पुगेका थिए । सन् २०१८ सम्म आर्सनलमा बिताएका जिरुड त्यसपछि चेल्सीमा अनुबन्ध भएका थिए ।
फ्रान्सका लागि सर्वाधिक ५७ गोल गरेका जिरुडले सन् २०१८ मा देशलाई विश्व च्याम्पियन बनाउन महत्ववूर्ण भुमिका निर्वाह गरेका थिए ।
‘१३ वर्षपछि फ्रेन्च लिग वानमा फर्कनु मेरा लागि अर्थपूर्ण छ । मैले सधैं लिलेलाई उत्कृष्ट क्लब मानेको छु । टोली युवा र प्रतिभाशाली खेलाडीले भरिएको छ । अनुभवी खेलाडीको आवश्यकता परेर नै क्लबले मलाई भित्र्याएको हो । म आफ्नो भूमिका निभाउन सक्दो प्रयास गर्नेछु,’जिरुडले भने ।