काठमाडौं । एन्फा राष्ट्रिय महिला लिगको फाइनलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले टिकट दर भिआइपीतर्फ ३०० र साधारणतर्फ १०० तय गरेको छ।
प्रतियोगिताको फाइनल बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ । उपाधिका लागि दुई विभागीय टोली नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगिताको फाइनल बाहेक सबै खेल सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको थियो।
एपिएफले पहिलो क्वालिफायर तथा पुलिसले दोस्रो क्वालिफायरमा आर्मीलाई हराउँदै फाइनल यात्रा तय गरेका थिए ।
लिगमा एपिएफले १८ खेल खेल्दा हार बेहोरेको छैन। पछिल्ला संस्करणभन्दा फरक ढाँचामा खेलाइएको यस लिगमा पुलिसविरुद्ध एपिएफको यो चौथो भेट हुनेछ । यसअघिका तीन खेलमा एपिएफले दुई खेलमा नतिजा आफ्नो पक्षमा पारेको थियो । एक खेल गोलरहित बराबरीमा समाप्त भएको थियो ।
यी तीन खेलमा एपिएफले पुलिसको पोस्टमा १० गोल गरेकोे थियो । जवाफमा पुलिसले एपिएफको पोस्टमा एक गोल पनि फर्काउन सकेको छैन ।