काठमाडौं । न्युरोड टिम (एनआरटी)लाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ,बागमती प्रदेश सभापति कप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार दोस्रो सेमिफाइनलको निर्धारित ९० मिनेटमा दुवै टोलीले २-२ गरे पछि खेलको निर्णय पेनाल्टी सुआउटबाट लिइएको हो ।
बागमतीले उपाधिका लागि संकटा फुटबल क्लबको सामना गर्नेछ । संकटाले पहिलो सेमिफाइनलमा मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८-७ ले पराजित गरेको थियो ।
पेनाल्टीमा बागमतीका नवीन लामा, फोडे फोफना, राजन तिवारी र कुलदीप कार्कीले गोल गरे । एनआरटीका अभिषेक लिम्बु र कृतिशरत्न छुन्जुले गोल गरे। सरोज तामाङको प्रहार विकेश कुथुले बचाए ।
त्यसअघि खेलको ११औं मिनेटमै सन्दीपले बागमतीलाई अग्रता लिलाएका थिए । ३ मिनेटपछि नै सेनेगाकाइज एलेक्सले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुआतमै कृतिशरत्न छुन्जुले एनआरटीका लागि गोल फर्काए । ६९औं मिनेटमा कृतिशले नै व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-२ को बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।