काठमाडौं । नयाँ वर्ष २०२५ अघि इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा रहन तीन क्लबबीच चर्काे प्रतिस्पर्धा चलेको छ ।
१८ खेल सम्पन्न हुँदा तेस्रो स्थानको साविक विजेता इन्टरले एक खेल कम खेलेको छ । आइतबार रातिका खेलसँगै एट्लान्टाले शीर्ष स्थान कब्जा गरेको छ । तर, तीन टोलीबीच मात्र १ अंकको अग्रता छ ।
एटलान्टा र दोस्रो स्थानको नापोलीको समान ४१ अंक छ । इन्टरको भने ४० अंक छ । राति नै भएको खेलमा एट्लान्टा र नापोली आ–आफ्ना खेल जित्न सफल भएका छन् ।
इन्टरले समग्रमा १३औं जित निकाल्दै शीर्षस्थानमा उक्लने दाउमा छ । टोलीले जनवरी ३ मा शीर्ष स्थानको एटलान्टासँग खेल्दैछ । त्यसैले पनि दुबै टोलीको लागि यो खेल निकै महत्वपूर्ण छ ।
यता, चौथो स्थानको लाजियो ३५ अंक जोड्न सफल भएको छ । शीर्ष चार टोली आगामी च्याम्पियन्स लिगको लागि छनोट हुनेछन् ।
महारथी युभेन्ट्स, एसि मिलान, रोमा भने लय फर्काउने योजनामै छन् । युभेन्ट्स छैटौं, मिलान आठौंं र खराब प्रदर्शन गरिरहेको रोमा दशौं स्थानमा छन् ।
आधा खेल सम्पन्न हुँदा मोन्जा, भेनेजिया र काग्लिअरी रेलिगेशन क्षेत्रमा छन् ।