काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिगमा आफ्नो विजय यात्रालाई तेस्रो खेलसम्म पनि जारी राखेको छ ।
आइतबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा कोशीले कर्णालीलाई ४-० ले पराजित गर्यो ।
पहिलो हाफमा एक गोलको अग्रता लिएको कोशीले दोस्रो हाफमा तीन गोल थप्यो । कोशीलाई जित दिलाउन पूर्णिमा राईले दुई तथा समीक्षा मगर र प्रतीक्षा राईले समान एक गोल गरे ।
खेलमा हाबी भएको कोशीले ३४औं मिनेटमा पहिलो गोल गर्यो । ममता राउतले राइट साइडबाट दिएको कट्ब्याकमा निगरानीमा नरहेकी पूर्णिमाले वान टचमा सहज गोल गरिन् ।
खेलको ६६औं मिनेटमा कोशीले दोस्रो गोल गर्यो । पूर्णिमाको लोफ्टेड थ्रु पासलाई सदुपयोग गर्दै समीक्षाले वान भर्सेस वानमा कर्णालीकी कप्तान तथा गोलकिपर लिला जोशीलाई बिट गरिन् । कर्णालीकी रक्षक तुल्सा बोहराले बललाई नियन्त्रणमा राख्न नसकेपछि समीक्षाले आक्रमण बुनेकी थिइन् ।
सात मिनेटपछि पूर्णिमाले व्यक्तिगत दोस्रो गोल गर्दा कोशी ३-० ले अगाडि बढ्यो । यसपालि कर्णालीको रक्षापङ्क्तिलाई छक्याउँदै पूर्णिमाले समीक्षाको थ्रु पासलाई सदुपयोग गरिन् । लिला फेरि पनि वान भर्सेस वानमा चुकिन् ।
प्रतीक्षाले ७४औं मिनेटमा कोशीका लागि चौथो गोल गरिन् । यस पटक पनि ममताले गाेलको अवसर सिर्जना गरेकी थिइन् । ममताको थ्रु पासलाई प्रतीक्षाले गोलकिपर लिलालाई बिट गर्दै पाेस्टकाे दिशा दिइन् ।
तेस्रो जितसँगै कोशीले अंक तालिकामा पाँच अंकको अग्रता लिएको छ । एक खेल कम खेलेका दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबको चार अंक छ ।
यसअघि कोशीले वालिङ नगरपालिकालाई ४-० र बागमती युवा क्लबलाई २-१ ले पराजित गरेको थियो ।
लगातार दोस्रो हारसँगै तीन खेलमा एक अंक जाेडेकाे कर्णाली नवौं स्थानमा झरेको छ । कर्णालीको भने यो लगातार दोस्रो हार हो । यसअघि चन्द्रपुरसँग १-१ को बराबरी खेलेको कर्णालीले वालिङ नगरपालिकासँग ४-० को पराजय ब्यहोरेको थियो।