काठमाडौं । आयोजक हिमालयन फुटबल क्लबले हिमालयन गानादा फुटसल गोल्डकपको उपाधि रक्षा गरेको छ ।
फाइनलमा हिमालयनले ढुकु स्पोर्टस हबलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्यो ।
चाबहिलस्थित भाटभटेनी हेल्थ क्लबमा निर्धारित २० मिनेटमा दुवै टोलीबाट १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।
उपाधिसँगै हिमालयनले २ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो । यसैगरी उपविजेता ढुकुले १ लाख रुपैयाँ, मेडर र प्रमाण पात्र पायो ।
प्रतियोगितामा ढुकुका अशोक मगर उत्कृष्ट खेलाडी र हिमालयन एफसीका दिपेश श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । दुवैले समान १० हजार रुपौयाँ प्राप्त गरे ।
फेयर प्ले टिम अवार्ड जितेको मत्से फुटसलले २० हजार रुपैयाँ प्राप्त गर्यो ।
विजेतालाई नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, नेपाली महिला राष्ट्रिय टिमका खेलाडीहरू अनिता बस्नेत, हिरा भुजेल, निशा थोकर र सविता रानामगर तथा बागमती प्रदेश फुटबल संघका उपाध्यक्ष राजिव मानसिंह बस्नेतले पुरस्कार प्रदान गरेका थिए ।
हिमालयन फुटबल क्लब र गानादा एजुकेसनल कन्सल्टेन्सीले संयुक्त आयोजना रूपमा आयोजना गरेको प्रतियोगितामा ३२ टिमले सहभागिता जनाएका थिए ।