काठमाडौं । एन्फा महिला लिगमा आइतबार कर्णालीको सामना गर्दा कोशी प्रदेश लगातार तेस्रो जितको लक्ष्यमा हुनेछ ।
यो खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा मध्यान्ह १२ः३० मा सुरु हुनेछ ।
कोशी दुई खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । यसअघि कोशीले वालिङ नगरपाललिकालाई ४-० र बागमती युवा क्लबलाई २-१ ले पराजित गरेको थियो ।
यता पहिलो जितको लक्ष्यमा रहेको कर्णाली दुई खेलबाट एक अंकका साथ आठौं स्थानमा छ । यसअघि चन्द्रपुर नगरपालिकासँग १-१ को बराबरीमा रोकिएको कर्णाली संकटा क्लबसँग ४-० ले पराजित भएको थियो ।
यसैगरी दिउँसो ४ः१५ मा सुरु हुने दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले बागमती युवा क्लबको सामना गर्नेछ ।
दुई खेलमा चार अंकका साथ दोस्रो स्थानमा रहेको पुलिस लगातार दोस्रो जितको लक्ष्यमा छ । यसअघि एपिएफ क्लबसँग गोलरहित बराबरीमा रोकिएको पुलिसले सुदूरपश्चिम प्रदेशलाई ९-० ले पराजित गरेको थियो ।
यता दुई खेलमा तीन अंकका साथ चौथो स्थानमा रहेको बागमती पनि दोस्रो जितको खोजीमा छ । यसअघि सुदूरपश्चिमलाई ५-१ ले हराएको बागमतीले कोशी प्रदेशसँग २-१ को पराजय ब्यहोरेको थियो ।