काठमाडौं । एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाले लगातार दोस्रो खेलमा बराबरीको नतिजा निकालेको छ ।
शुक्रबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ(एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा चन्द्रपुरले संकटा फुटबल क्लबविरुद्ध गोलरहित बराबरी खेल्यो ।
बराबरीसँगै चन्द्रपुर दुई खेलमा दुई अंक जोड्दै अंकतालिकाको पाँचौं स्थानमा यथावत रह्यो । पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग ४-० को फराकिलो हार ब्यहोरेको संकटा आजको नतिजापछि आठौं स्थानमा उक्लियो ।
शुक्रबारै दिनको दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दैछ । दुबै पहिलो जितको खोजीमा हुनेछन् ।
पुलिसले पहिलो खेलमा अर्को विभागीउ टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग गोलरहित बराबरी खेलेको थियो भने सुदूरपश्चिमले बागमति प्रदेशविरुद्ध ५-१ को हार ब्यहोरेको थियो । खेल दिउँसो सवा चार बजे सुरु हुनेछ ।