काठमाडौं । फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा शुक्रबार साबिक विजेता अर्जेन्टिनाले चिलीविरुद्ध ३-० को सहज जित निकालेको छ ।
जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ । पराजित चिली समान खेलबाट पाँच अंकका साथ नवौं स्थानमा छ।
मास मोनुमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे । तीनै गोल दोस्रो हाफमा भएको थियो ।
खेलको ४८औं मिनेटमा एलिस्टरको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । उनले अल्भारेजको पासलाई सदुपयोग गरे ।
निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले टोलीको अग्रता दोब्बर बनाए । उनले जियोभानी लो सोल्सोको पासलाई पोस्टको दिशा दिए ।
इन्जुरी समयमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको पासलाई जाली चुमाउँदै डिबालाले अर्जेन्टिनालाई ३-० को सहज जित दिलाए ।