काठमाडौं । राष्ट्रिय महिला लिगमा आज (बुधबार) एक खेल हुँदैछ । डिभिजन क्लबकाे हैसियतले संकटाले महिला लिगमा डेब्यु गर्दैछ ।
पुरुष फुटबलमा निरन्तर शीर्ष डिभिजन लिग खेलिरहेकाे संकटाले पहिलो पटक महिला टोली निर्माण गरेको हो । यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट संकटा तथा ‘बी’ डिभिजन लिगबाट बागमती युवा क्लबले महिला लिग खेल्दैछन् ।
दिउँसो ३ बजे हुने खेलमा संकटाले विभागीय टोली त्रिभुवन आर्मी क्लबको सामना गर्दैछ ।
आर्मी उपाधि दाबेदार टोली हो । टोलीमा हाल राष्ट्रिय टिमबाट खेलिरहेका दीपा शाही, अञ्जना रानामगर, अमिषा कार्की, विमल विक र विमला चौधरीसहित पूर्व खेलाडीहरु दीपा राई र पुनम जर्घामगरसँगै उमेर समूहबाट नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडी छन् ।
यता, संकटाले पहिलो खेलमै विदेशी खेलाडी मैदान उतार्दै छ । नियमअनुसार चार विदेशी नै अनुबन्ध गर्ने प्रक्रियामा संकटा भए पनि पहिलो खेलमा गोलकिपर र मिडफिल्डर मात्रै विदेशी हुनेछन् ।
संकटाका प्रशिक्षक रविन्द्र सिलाकारले पहिलो सिजन शीर्ष पाँचमा रहँदै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताएका छन् ।
साढे दुई वर्षपछि भएको महिला लिगमा बागमती र कोशीले समान एक जित निकालिसकेका छन् । मंगलबार भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफले गोलरहित बराबरी खेलेका छन् ।