काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगअन्तर्गत विभागीय डर्बीमा एपिएफ र पुलिसले गोलरहित बराबरीमा खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यो नतिजासँगै दुवै टोलीले समान एक अंक जोडेका छन् ।
खेलको २४औं मिनेटमा एपिएफले पहिलो अवसर बनायो । सविता रानामगरको सुन्दर थ्रु पासमा मिडफिल्डर अनिता केसीले टच दिन सकिनन् ।
पहिलो अवसर बनाएको एक मिनेटभित्र नै एपिएफले थप दुई सुनौला अवसर सृजना गर्यो । कप्तान अनिता बस्नेतको क्रसलाई बक्सभित्र रश्मीकुमारी घिसिङले नियन्त्रणमा लिएर वान टचर्म प्रीति राईलाई अवसर मिलाइदिएकी थिइन् । तर, प्रीतिको प्रहार क्रसबारभन्दा माथि गयो । लगत्तै अनिताको कर्नरमा रश्मीले गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
सविताले ३०औं मिनेटमा सुनौलो अवसरलाई सुदपयोग गर्न सकिनन् । उनको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।
सुरु लिम्बुको प्रहारले पोस्टको दिशा लिन नसक्दा ८२औं मिनेटमा एपिएफले अग्रता बनाउने अर्को अवसर गुमायो ।
नेपाल पुलिस क्लबका प्रशिक्षक भोलानाथ सिलवालले टोलीको प्रदर्शनमा सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
टोलीको बलियो पक्ष भनेकै रक्षपंत्ती हो । आज हाम्रा चारै रक्षकले उत्कृष्ट प्रदर्शन गरे । यसबाट सन्तुष्ट छु,’ सिलवालले भने, ‘स्ट्राइकरको कमी महसुस भयो । एपिएफ जस्ता उत्कृष्ट टोलीविरुद्ध राम्रो प्रदर्शन गर्यौं। यसले हसौला बढाएको छ । आगमी खेलमा अझै राम्रो प्रदर्शन गर्ने छौं ।’
पुलिसका नियमित फरवार्डद्धय रेखा पौडेल र नीशा सुनार आजको खेलमा अनुपस्थित रहे । रेखा अहिले युएईको क्लब अबुधाबी काउन्ट्रीमा आबद्ध छिन् भने नीशाले पारिवारिक कारण लिग गुमाउने भएकी छन् ।
यता एपिएफका मुख्य प्रशिक्षक पाण्डेले साबित्रा भण्डारी नहुँदा टोलीमा समस्या आएको प्रतिक्रिया दिए । उनले भने, ‘साबित्रा नहुँदा हामीलाई अलिकति गाह्रो भइरहेको छ । गोल निस्किरहेका छैनन् । तर, हामीले युवा खेलाडीलाई मौका दिएका छौं । यी खेलाडीलाई लय समात्न केही समय लाग्छ । ’
एपिएफका नियमित स्ट्राइकर सावित्रा अहिले फ्रेन्च लिग खेलिरहेको छ । उनको स्थानमा एपिएफले विभागीय प्रतिद्धन्द्धी त्रिभुवन आर्मी क्लबबाट स्ट्राइकर रश्मीकुमारी घिसिङलाई अनुबन्ध गरेको छ ।
मंगलबारै सम्पन्न अर्को खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १-१ को बराबरी खेलेका थिए ।