काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिगमा मंगलबार चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित मुख्यालयको मैदानमा खेलको छैटौं मिनेटमा सुनकला राईको गोलमार्फत कर्णालीले अग्रता लिएको थियो ।
विपक्षी रक्षकबीच तालमेल नमिल्दा सुनकलाले सुन्दर गोल गरिन् । लेफ्ट साइडबाट विंगर वर्षा ओलीले उपलब्ध गराएको बललाई उनले वान बाउन्समा पोस्टको दिशा दिएकी थिइन् ।
चन्द्रपुरले १२औं सेटपीस अवसर पाएको थियो । तर, सजनी थोकरको प्रहार कर्णालीका गोलकिपर लिला जोशीले सहजै बचाइन् ।
पहिलो हाफको इन्जुरी समयमा चन्द्रपुरले बराबरी गोल फर्कायो । राइट साइडबाट विपक्षी रक्षक अञ्जना पुनलाई बिट गर्दै सेनु परियारले दिएको सुन्दर कटब्याकलाई बक्सभित्र निगरानीमा नरहेकी रजनी थोकरले वान टचमा जाली चुमाइन् ।
दुवै टोलीले दोस्रो हाफमा केही राम्रा अवसर पाए पनि गोलमा परिणत गर्न सकेनन् ।
दिनको दोस्रो खेलमा दुई विभागीय टोली मैदानमा उत्रँदैछन् । दिउँसो ४:१५ बजे हुने खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्दैछ ।