काठमाडौं ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिपको उपविजेता टोलीका खेलाडीले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन् ।
गत बिहीबार सम्पन्न एन्फा कार्यसमिति बैठकले यु-२० टोलीलाई पुरस्कार प्रदान गर्ने निर्णाय गरेको थियो । यसैगरी खेलाडीलाई टिकट विक्रीको २० प्रतिशत रकम दिने निर्णय पनि भएको थियो ।
एन्फाका अनुसार खेलाडीले टिकट विक्रीको २० प्रतिशत (१५ हजार ४० रुपैपाँ) थप पाउने छन् ।
टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ५० हजार रुपैपाँ प्राप्त गर्दा सहायक प्रशिक्षक शसेन्द्र धिमाल र राजुसिंह महर्जन, व्यवस्थापक रविन खड्का तथा फिजियोथेरापिस्ट अनिश बुढाथोकीलाई समान २५ हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा गत बुधबार सम्पन्न फाइनलमा बंगलादेशसँग ४-१ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो ।