काठमाडौं । राष्ट्रिय महिला लिगमा आज (मंगलबार) दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउसो १२ः३० मा हुने खेलमा चन्द्रपुर नगरपालिका र कर्णालीबीच प्रतिस्पर्धा हुँदैछ ।
चन्द्रपुरलाई एन्फा कार्यसमिति बैठकले सिधै राष्ट्रिय लिग खेल्ने अवसर दिएको हो । कर्णाली भने सुर्खेतमा भएको छनोट प्रतियोगिताबाट राष्ट्रिय लिगमा छनोट हुन सफल भएको थियो । दुबै टोलीमा नेपालको उमेर समूहबाट खेलेका खेलाडीको बाहुल्यता छ ।
त्यस्तै, अपराह्न ४ः१५ बजे सुरु हुने खेलमा विभागीय डर्वी हुनेछ । एपिएफ एफसी र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दैछन् । राष्ट्रिय टोलीका खेलाडीको बाहुल्यता दुबै टोलीमा हुनेछ ।
दुबै टोलीले यसपटक लिग जित्ने योजना बनाएका छन् । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) लापरबाहीका कारण दुबै टोलीका आधा दर्जन बढी खेलाडी मैदानमा उपलब्ध नहुने सम्भावना बढी छ ।
दुबै टोलीका खेलाडीका नाम फिफा कनेक्ट हुन सकेको छैन । फिफा कनेक्टमा दर्ता नभएको खेलाडी मैदान उतारेमा क्लबलाई कारबाही हुनेछ । क्लबले खेलाडीको नाम एन्फामा समयमै उपलब्ध गराएपनि एन्फाले लापरबाही गरेको दुबै क्लबले गुनासो गरेका छन् ।
एन्फाले दुबै क्लबलाई खेलअघि सम्म खेलाडी दर्ता हुने आश्वासन दिएको छ ।
त्यस्तै, विदेशी लिगमा अनुबन्ध भएपछि सावित्रा भण्डारी र गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा एपिएफको टिममा हुने छैनन् । युएई क्लबमा आवद्ध रेखा पौडेल पनि पुलिस टिममा हुँदिनन् ।