काठमाडौं । समयमै दर्ता प्रक्रिया पूरा नहुँदा विभागीय टोलीद्वय सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाल पुलिस क्लबका आधा दर्जन खेलाडीले पहिलो खेल गुमाउने भएका छन् ।
राष्ट्रिय महिला लिगअन्तर्गत तेस्रो दिन (मंगलबार) साविक विजेता एपिएफ र पुलिस प्रतिस्पर्धा गर्दैछन् । सातदोबाटोमा खेल अपराह्न सवाँ चार बजे सुरु हुँदैछ ।
तर, २४ घण्टा बाँकी रहँदा राष्ट्रिय टोलीकै अधिकांश खेलाडी नाम दर्ता भएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्ता प्रक्रिया पूरा गर्न नसक्दा खेलाडी पहिलो खेलमै मैदान प्रवेशमा बञ्चित हुँदैछन् ।
‘खेलाडी दर्तामा समस्या आएको छ । हाम्रा धेरै खेलाडी फिफा कनेक्टमा नजोडिदा पहिलो खेल खेल्ने हो या हैन अनिश्चित छ,’ एपिएफका एक अधिकारीले भने, ‘यो विषयमा एन्फालाई जानकारी गराइसकेका छौँ । अब, समाधान गर्ने उहाँहरुकै जिम्मेवारी हो ।’
पंकजविक्रम नेम्वाङ एन्फाको नेतृत्वमा आएको साढे दुई वर्षपछि महिला लिग सुरु भएको छ । लगातार दुई वर्ष लिग नहुँदा अधिकांश खेलाडीले भारत, भुटान र बंगलादेशका लिग खेल्न प्रस्ताव आएको थियो । सोहीअनुसार सम्बन्धित देशमा खेल्न खेलाडीले प्रक्रिया सुरु गरेका थिए ।
अहिले त्यही प्रक्रिया पूरा नहुँदा खेलाडी खेल्न पाउने हुन् या नपाउने अनिश्चित बन्दै गएको छ ।
प्रतियोगितामा दुई खेल सम्पन्न भइसक्दा कोशी प्रदेश र बागमती युवा क्लबले विजयी सुरुआत गरेका छन् । लिगमा विभागीय तीनसहित दश टोली सहभागी छन् ।